नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माबिमा निर्माण गरिएको सभाहलको आज एक कार्यक्रमको बिच उद्धघाटन गरिएको छ । गत आर्थिक बर्ष २०७६/०७७ बाट निर्माण सुरू भएको भवन माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईको संयुक्त बाहुलीबाट उद्घाटन गरिएको हो ।
माईजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ मा १० लाख आर्थिक बर्ष २०८०/०८१ मा २० लाख र आर्थिक बर्ष २०८१/०८२ मा ५ लाख गरी कुल लागत ३५ लाख र स्थानिय बिद्यालयको स्रोत बाट ३ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसा गरी ३८ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसामा निर्माण गरिएको सभाहलमा ३ सय जना मानिस अटाउन सकिने छ ।
गाउँपालिकाको केन्द्र समेत रहेको नयाँबजारमा सभा हलको अभाव हुँदा विभिन्न कार्यक्रमहरू गर्न समस्या हुने गरेको थियो । तर नयाँबजारमा सभा हल निर्माण भएपछि विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्नको लागि सहज भएको छ । सभाहलमा हलको लागि स्टेज निर्माण , ३०० मानिस हटाउन सकिने कुर्सी ,सोफासेट , साउण्ड सेट , लगायतको ब्यवस्था समेत गरिएको छ ।
कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफल हुने बिद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । बिद्यालयमा स्थापना भएको बेममाया स्मृति अक्षयकोषबाट बिद्यालयका बिद्यार्थीहरू अजयदेव फागो र शर्मिला गुरूङलाई छात्रबृद्दि प्रदान समेत गरिएको थियो ।
सभाहल अमर कल्याण नमुना माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता , माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता , बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू , बिद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा आज सभाहलको उद्घाटन गरिएको हो ।