Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार : मुख्यमन्त्री कार्की

विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार : मुख्यमन्त्री कार्की

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २३ २०८१


विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताएका छन् । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताए ।

प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले भने ‘यसबाट सम्वृद्धि हासिल गर्न सकिन्छ ।’ पर्यटनबाट विकास सम्वृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने ‘अब वार्ता र संबादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लागौँ ।’

सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरु खोजी हुने बताइन । उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताइन् ।

कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो । स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।

यो परियोजना अन्र्तगत चियाबारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग ( फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम ) लालीगुराँस पदमार्ग ( तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा)  रहेका छन् ।

कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको सम्वृद्धि र विकासका लागि सहयोग पुग्ने छ । कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए । स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार