राेङ । लोपोन्मुख लाप्चा जातिले नयाँ बर्ष २३४५ धुमधामका साथ मनाएका छन् । इलामको रोङ गाउँपालिकामा पनि नयाँ बर्ष मनाइएको छ । लाप्चा जातिले नयाँ बर्षलाई नामआल, नामवन र नामसुङ भनेर मनाउने गर्दछन् । रोङ गाउँपालिकाको वडा नम्बर ३ जिल्बोङमा सामुहिक रुपमा मनाइएको हो ।
संबिधानसभाका सदस्य टिकाराम लाप्चाले पायक पर्ने ठाउँमा संग्रहालय नभएकोमा दु:ख ब्यक्त गरे । हाँसपोखरी आसपासको क्षेत्रमा संग्राहलय निर्माण भएको भएमा सञ्चालनमा आर्थिक संकलन समेत हुन मा उनले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले लाप्चा जातिको जातीय पहिचानको लागि निर्माण भएको संग्राहलयको बाकी काम यसै बर्ष पुरा हुने बताइन् ।
जिल्बोङमा निर्माण भएको भवनको संरचना तयार भएपनि घेराबारा तथा अन्य आवश्यक ब्यवस्थापनका काम नहुदाँ संग्रहालय सञ्चालनमा आउन सकेको छैन् । स्थानीय जगत बहादुर लाप्चा र उत्तम लाप्चाले अनुदानमा उपलब्ध गराएकाे २ रोपनी जमिनमा सग्राहलय को भवन निर्माण भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोङ ३ का वडा अध्यक्ष मात्रिका बरालले लाप्चा समुदायको संरक्षण र बिकास भएमा मात्रै रोङको बिकास हुने बताए । उनले भौतिक निर्माण मात्रै बिकास नभइ मानविय क्षमताको बिकासलाई पनि बिकासको रुपमा लिनु पर्ने बताए ।
कार्यक्रममा सामुहिक पुजा पाठ ध्यान तथा सामुहिक भोजनको समेत ब्यवस्था मिलाइएको थियो । स्कुस पिडालु, बनतरुल, घरतरुल भ्याकुर लगायतका तरुल तथा कन्दमुल उसिनेर खाजाको रुपमा सहभागीलाई बितरण गरिएको थियो ।
लाप्चा समुदायका मानिसहरु जातिय भेषभुषामा सजिएर उपस्थित भइ लाप्चा भाषामा देउसीभौलो कार्यक्रम पनि गरिएको थियो । ज्ञानकुमारी लाप्चाले स्वागत मन्तब्य राखेको कार्यक्रममा शारदा आधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लालबहादुर मुखिया, लाप्चा भाषा शिक्षक सागरमान लाप्चा, लाप्चा भाषाबिज्ञ दावा लाप्चा लगायतले नयाँ बर्ष २३४५ काे बारेमा शुभकामना सहित आ आफनो धारणा राखेका थिए ।
कार्यक्रम तेजु लाप्चाले सञ्चालन गरेका थिए । सो अवसरमा लाप्चा जातीय पहिचान झल्कने बिभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।