मंगलबारे । इलामको देउमाई नगरपालिकामा दाेश्राे वडास्तरीय तरुण कप फुटबल प्रतियोगिता हुने भएकाे छ । नेपाल तरुण दल देउमाई नगर कार्य समितिले आयोजनामा दोस्रो संस्करण आउँदो पुस १ बाट हुने भएको हाे।
‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ भन्ने मूल नारासहित प्रतियोगिता विजेतालाई नगद ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टिमलाई नगद ३३ हजार तीन सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तरुण दलको देउमाई नगर कार्य समिति अध्यक्ष विमल खम्बूले जानकारी दिए ।
उदीयमान खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न प्रायोजक खोजी र सहयोग सङ्कलन भइरहेको बताइएको छ । गत वर्ष छ लाख ४२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो ।
यो वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएकाले प्रतियोगिता सम्पन्न गर्न खर्च बढ्ने अनुमान छ । प्रतियोगितामा देउमाई नगरपालिकाका नौ वटा वडाका नौ टिम सहभागी हुने आयोजक समितिका विनम ढकालले जानकारी दिए ।
प्रतियोगिता देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा हुनेछ ।