Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

धाँजा फाटेको सिमसारा

धाँजा फाटेको सिमसारा

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ९ २०८१


धाँजा फाटेको सिमसारा

इलाम– साहित्यमा हरेकजसो वर्ष एउटा न एउटा कृतिले निकै चर्चा कमाउँछन् । पछिल्लो समय चर्चा कमाउने कृति भएको छ– बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ ।
सिमसाराले मिडियामा राम्रो कभरेज पाइरहेको छ । सिमसारा चिया पसलदेखि सभा–समारोह समेतमा चर्चा–परिचर्चा बटुलिरहेको छ, छलफल–बहसमा विषयवस्तु बनिरहेको छ । र, पाठकका मुखमा झुन्डिरहेको छ अहिले यो नाम । तर, लेखकले जुन गाउँको नामबाट ‘सिमसारा’ कृति जन्माए, त्यही गाउँको अहिलेको अवस्था चाहिँ कस्तो छ रु धेरैलाई थाहा नहुनसक्छ । निकै पीडा बोकेर बाँचिरहेछ अहिले सिमसारा गाउँ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ ९साविक चमैता ९०मा पर्छ सिमसारा । फाकफोकथुमकै बासिन्दा रहेका लेखक बस्नेतले सिमसारा नामलाई यत्रतत्र जति छर्न सकेका छन्– त्यही सिमसाराको पीडा चाहिँ उत्तिकै गुमनाम बनिरहेको छ यतिबेला ।
हो, यही गाउँका योगराज राई अचेल रातभरि सुतेर पनि बिहान अनिँदोझैं उठ्छन् । मध्य मंसिरे हिउँदको चिसोले होइन, आउने बर्खाको सम्भावित जोखिमले राईको ‘निद हराम’ गरिदिएको छ ।
घर त छ तर भर छैन । गत असोजको भेल–पहिरोले क्षति गरिदिएको घरको हालत आउँदो बर्खामा कस्तो होला १ यो चिन्ताले चाहिँ उनको मुटु ठिहिर्‍याइरहेको छ । हिउँदभर जसोतसो क्षतिग्रस्त घरमै धानिएला, बर्खा लागेपछि कहाँ बस्ने, कसरी बाँच्ने रु योगराजको मात्र होइन, सिमसारा गाउँका कम्तीमा १६ परिवारको साझा पीडा हो यो ।
सिमसारा पछिल्लो भेल–पहिरोले जिल्लामै सबैभन्दा बढी परिवार विस्थापित गरेको गाउँ हो । भेलपहिरोले गाउँमा सयौं धाँजा फाटेका छन् । घर दर्जनौं ठाउँमा चर्किएका र भत्किएका छन् । कतिपय घर माथिबाट आएको पहिरोले पुरेको छ । नजिकै बगेका हेवाङ्मा र मेतालुङले कहिले गाउँ निल्ने हुन्–गहिरो पीडा छ यहाँका बासिन्दालाई । वडाध्यक्ष टंक खनाल भन्छन्, ‘कतिपय घर २–४ फिटसम्म भास्सिएका छन्, जमिन दबेको छ । गाउँलेले खेतीपाती त गरेका छन् तर बाली उठाउन पाउने कि नपाउने भन्ने अन्योल छ ।’
बनिबुतो, कृषिकर्म गरी पसिनाले आर्जेको जीवनभरको सपना ९घर० पहिरोले एकैछाक पार्ने जोखिम बढेपछि स्थानीय ढुक्कले निदाउन पाएका छैनन् । हातमुख जोर्ने आधार बालीनाली त दोस्रो कुरा ।
अर्का स्थानीय मनकुमार राई आउँदो बर्खामा कहाँ गएर बस्ने भन्ने तनावमा छन् । ‘घर बस्ने अवस्थाको छैन, अब बर्खा लाग्न ५–६ महिनामात्रै छ,’ उनी भन्छन्, ‘न सुरक्षित ठाउँमा घरको टुंगो छ, न यहीं ढुक्कले बस्न सकिन्छ ।’
बाढी–पहिरोले जिल्लामा करोडौं रुपैयाँको क्षति गर्दा गावैं विस्थापित हुने अवस्थामा रहेको चाहिँ सिमसारा नै हो ।
बाढी–पहिरोपीडितले केही क्षतिपूर्ति पाउनेक्रममै रहेपनि विस्थापितलाई कसरी बर्खामा जोगाउने भन्ने चिन्तामा छ गाउँपालिका पनि । बाढी–पहिरोले क्षति गरेको ठाउँको पुनर्निर्माण र विस्थापितको पुनर्स्थापनाबारे प्रभावकारी काम भएको छैन । पीडित आशावादी छन् तर सरकारले उनीहरूको सुरक्षित बसोबासका लागि ढुक्क हुने वातावरण बनाउन सकेको छैन ।
फाकफोकथुम गाउँपालिका जिल्ला सदरमुकामबाट पनि भौगोलिक हिसाबले टाढा पर्छ । केही वर्षअघिसम्म बर्खामा सदरमुकामसँग यातायात सम्पर्कै टुट्नेगरेको फाकफोकथुमलाई पोहोरदेखि भने कालोपत्रे सडकसम्मले छोएपछि केही राहत मिलेको छ ।
बाढी–पहिरोपीडितको बर्खा बिजोकमा बित्ने देखेपछि गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल सदरमुकाम आएका छन् । ‘जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका सर्वसाधारणलाई आउँदो बर्खामा जोगाउने उपाय भएन, के गर्न सकिन्छ, तुरुन्त सुरु गरिहाल्नुपर्ने भो,’ अध्यक्ष खनालले जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सिडिओ कल्पना श्रेष्ठलाई भेटेरै भने, ‘अब विस्थापितलाई बर्खामा बचाउनेगरीको काम गरिहाल्नुपर्छ, नत्र बर्खा लाग्नेबित्तिकैको ठूलो जोखिम आँखाअघि नै छ ।’


खनालले विस्थापितलाई उनीहरूको घर–खेतनजिक (खेतीपातीमा सहज हुनेगरी) सुरक्षित आवास प्रबन्ध गर्नु आवश्यक रहेको पनि बताए । ‘किसानलाई कुनै अलग्गै ठाउँमा आवास निर्माण गरिदिनु पनि प्रभावकारी नहुनेरहेछ, उनीहरूले दैनिक गुजारा गर्ने खेतीपातीको पायक पर्ने ठाउँ खोज्नुपर्छ,’ खनालले भने, ‘तर, जतिसक्दो चाँडो यसको प्रक्रिया अघि बढाइयोस् ।’
सिडिओ श्रेष्ठले पालिका र विपद् व्यवस्थापन समितिको सिफारिसमा संघीय सरकारले विस्थापितको आवास व्यवस्था गर्ने बताइन् । ‘पीडितलाई बर्खाअघि नै आवास प्रबन्ध गर्न हामी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्नेछौं,’ उनले भनिन्, ‘जतिसक्दो चाँडो विस्थापितलाई पुनस्थापित गर्न पहल गरिरहेकै छौं ।’
असोजको बाढी–पहिरोले फाकफोकथुमका २७ संरचना पूर्ण र ५५ मा आंशिक क्षति गरेको गाउँपालिकाको तथ्यांक छ । पालिकाका विपद् फोकल पर्सन गोविन्द लामिछानेका अनुसार २८ किसानको बालीनाली क्षति भएको छ ।  सडक पूर्ण रूपमा क्षति भएका छन् । २ स्वास्थ्य चौकी, ६ लघुजलविद्युत्, २४ सिँचाइ कुलो, ७ खानेपानी, ७ स्कुल भवन (जोखिमयुक्त) रहेको लामिछानेले जानकारी दिए ।

पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार