इलाम । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको दिसामा अघि बढेको बताएका छन् । उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचनको रुपमा विदाई गरेको स्मरण गर्दै ०७५ लाई विकास र समृद्धिको वर्षका रुपमा बनाउनुपर्ने धारणा राखे ।

इलाम सदरमुकाम (खलङ्गा) को दुई शतवार्षिकीको अवसरमा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ अघि बढेको बताए ।
‘हामीले विभिन्न चरणका निर्वाचन सम्पन्न गरी देशलाई यहाँसम्म ल्याउन सफल भएका छौ’ उपराष्ट्रपति पुनले भने ‘अबको एकमात्र संकल्प र साझा अजेण्डा विकास र समृद्धि हो । त्यसका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्दछ ।’उपराष्ट्रपति पुनले इलाम राजनीतिक परिवर्तनमा विशेष योगदान गर्ने जिल्ला रहेको स्मरण गर्दै समृद्धिको यात्रामा समेत इलामले महत्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको बताए ।

‘इलाम नेपालकै सुन्दर जिल्ला हो । यो जिल्ला कृषि, पशुपालन, शिक्षा, भाषा, संस्कृति र पर्यटनका क्षेत्रमा अत्यन्तै अगाडि छ’ उपराष्ट्रपति पुनले भने, ‘यस्तो विविधतायुक्त जिल्लाको विकासका लागि सबै पक्ष र समुदायलाई समेटेर अघि बढ्न आवश्यक छ ।’ संविधानले नै समाजवादी व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले त्यसका लागि विभिन्न क्षेत्रमा प्रतिष्पर्धाको जरुरी रहेको बताए ।

‘आर्थिक विकास र समृद्धिका लागि प्रदेशहरुले प्रतिष्पर्धा गर्नुपर्छ । प्रतिष्पर्धा मैत्रीपूर्ण र एकआपसमा सहयोगात्मक हुनुपर्दछ’ उनले भने । उनले स्थानीय तहहरुबीच समेत स्वस्छ र सहयोगात्मक प्रतिष्पर्धा गर्न सुझाव दिए ।
त्यस्तै १ नम्बर प्रदेशका आन्तरीक मामलिा तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रम उद्घाटनका अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीसहितको र्यालीले इलाम बजार परिक्रमा गरिएको थियो । त्यस अवसरमा इलामका नागरिक युद्धप्रसाद वैद्यलाई विशिष्ट नागरिकको सम्मान गर्दै रथारोहण समेत गरिएको थियो ।