काठमाडौँ : सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका फुटबलरका अभिभावकले एन्फाको लापरवाहीबाट सन्तान गुमाएको ५३ दिन बितिसक्दा पनि आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन्। उनीहरुले बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा ३ दिनसम्म चुप लागेर बसेको र लापरबाही गरेको आरोप लगाएका छन्।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित एन्फा एकेडेमीका ६ जना फुटबलरको मृत्यु गत असोज १२ गते पहिरोमा भएको थियो। पहिरोमा ज्यान गुमाएका ६ फुटबलरमध्ये ५ जनाका अभिभावकले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका सबै संयन्त्रले चासो नदेखाएको आरोप लगाएका छन्।
पीडित परिवारहरुले आफूले एन्फालाई विश्वास गरेर आफ्ना सन्तान सुम्पिए पनि एन्फाको लापरबाहीका कारण सन्तानले ज्यान गुमाएको आरोप लगाएका छन्। पहिरोमा ज्यान गुमाएका विकल रेग्मीकी आमाले आर्थिक अवस्था कमजोर हुँदा पनि आफ्ना छोराका लागि शुल्क तिर्दै आएको बताइन्। देशका लागि खेल्ने छोराको लक्ष्य रहेकाले एकेडेमीमा कठिनाइ हुँदा पनि विश्वास गरेको तर त्यो विश्वासअनुरूप एन्फा गैरजिम्मेवार हुँदा आफ्ना सन्तानको ज्यान नै गएको विकलकी आमाले बताइन्।
बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा ३ दिनसम्म चुप लागेर बसेको र वत्सलादेवी विद्यालयका शिक्षकले पनि आफ्ना सन्तानलाई ढोका थुनेर त्यहाँबाट गएको आरोप उनले लगाइन्। ज्यान गुमाएका विकल रेग्मीकी आमाले आफूले क्षतिपूर्ति मागेको नभएर न्याय चाहिएको बताइन्। पीडित परिवारले उक्त एकेडेमीमा बालबालिकाको स्वास्थ्यमा पनि खेलबाडका गतिविधि भइरहेको आरोप पनि लगाएका छन्। बिना डाइट १३ वर्षमुनिका बालबालिकालाई एन्फाले प्रशिक्षण गराउने गरेको आरोप उनीहरुले लगाएका छन्।
पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेतालगायतमा घटनाको निष्पक्ष छानबिनका लागि ज्ञापन बुझाउँदा पनि न्याय नपाएको दुखेसो पोखेका छन्। उनीहरूले सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको आरोप लगाएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेको थियो।
कुलेखानीको बाँध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य‚ सर्लाहीका आदित्य बलमपाकी र साइमन योञ्जनको पहिरोमा मृत्यु भएको थियो।