नयाँबजार । इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा मंसिर ९ गतेबाट बालाचर्तुदशी मेला यो वर्ष पनि लाग्ने भएको छ । गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा मंसिर १८ गते सम्म मेला लाग्ने भएको हो । नयाँबजारको शिवालय धाम, सन्त बालागुरुको प्रतिमा दर्शन, उत्तरेपोखरी दर्शन मेलाका कार्यक्रम छन् ।
आन्तरिक र बाह्य पर्यटकहरुलाई भित्र्याउने उद्धेश्यका साथ मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । किरातका प्रथम राजा यलम्बर, नेपालकै अग्लो गणेशको प्रतिमा, विश्वबाट लोपोन्मुख जनावर हाब्रे (रेड पान्डा) साथै रेडपान्डाको प्रतिमालगायत पर्यटकका लागि आकर्षण रहेको उनले बताए ।
गाउँपालिकाभित्र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रचार गर्न मेला आयोजना गरिएको उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् । मेला व्यवस्थापन समिति संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाइलो मिनी मेला, विभिन्न जातजातिका झाँकी, सांस्कृतिक वेशभूषा प्रदर्शन गरिनेछ । रैथाने खानेकुरा प्रदर्शनमा समेत राखिनेछ ।
सडकको समस्या हुँदा समेत भरिभराउन हुने मेला अहिले सहज यातायातको पहुँचपछि अझ बढि दर्शनार्थीहरु बढ्ने व्यवस्थापन समितिका सचिव महेश सापकोटाले जानकारी दिए । मेलामा स्थानीय शिवालयमा आफ्ना पितृको सम्झनामा सद्बिउ–पलबिउँ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीको बिहानैदेखि भिड लाग्ने गरेको छ ।
गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदय, सूर्यास्त दृश्यावलोकन गर्न सकिने, उत्तरेपोखरी, मलुपोखरी, साततले झरना, शिवालय धाम, साङ्छ्योलिङ बौद्ध गुम्बा, महादेव थान मन्दिर, देवी मन्दिर माइबेनी शिवालय धाम दर्शन गर्न सकिनेछ ।