फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ मा रहेको दियालो आधारभुत विद्यालयमा विज्ञान प्रयोगशाला उद्धघाटन गरिएको छ । नगर प्रमुख रणबहादुर राईले प्रयोगशाला उद्धघाटन गरे । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनिराज राईको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा देउसी भैलोको समापन समेत गरिएको थियो । विद्यालयले देउसी भैलोबाट २ लाख १४ हजार ७०५ रुपैया संकलन गरेको छ । साथै ढोडे क्लबले विद्यालयलाई १६ हजार ८ सय ४० रुपैया सहयोग गरेको छ ।
उक्त कार्यक्रममा २०८० सालको देउसीभैलोबाट संकलित एक लाख ६१ हजारले बिद्यालयमा बिज्ञान प्रयोगशाला निर्माण, खेल सामग्री खरिद, बिज्ञान सामग्री खरिद, बाजा खरिद, कपी पेन्सिल खरिद र सांस्कृतिक पोषाक खरिद गरिएको बिद्यालयकी शिक्षिका बिष्णु माया राईले विवरण पेश गरिन् ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले शिक्षकले पढाउने मात्र नभई बिद्यार्थीका हरेक गतिविधिमा जानकार बन्नु पर्ने बताए । उनले शिक्षा शाखा र विद्यालयले मात्र पहल गरेर शैक्षिक सुधार नहुने बताउँदै अभिभावकहरु समेत सचेत बन्न आग्रह गरे । वडाध्यक्ष शर्माले ग्रामिण क्षेत्रका बिद्यालयले सरकारको प्रतिनिधित्व गरेको बताए । उनले बिद्यालय आसपासको क्षेत्र शान्त रहने भन्दै बिद्यालयका कारण बिभिन्न समस्याबाट समाज जोगिएको बताए ।
कार्यक्रममा नगरको शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडा र बिज्ञान शिक्षक समाज सूर्योदयका अध्यक्ष सफल राईले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । दियालो आवि २०४१ सालमा युनिसेफको सहयोगमा स्थापना भएको थियो ।