Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली साकिरा इन्दिरासँगै यसरी झुम्यो फिक्कल बजार

नेपाली साकिरा इन्दिरासँगै यसरी झुम्यो फिक्कल बजार

  • नमीन ढकाल
  • शुक्रबार, चैत्र ३० २०७४


नेपाली साकिरा इन्दिरासँगै यसरी झुम्यो फिक्कल बजार

 फिक्कल : सूर्योदय नगरपालिकाका वासिन्दाले भर्खरै पानी परेर चिसो बनेको मौसमसमेत बिर्सिए जब लामो समयको प्रतीक्षापछि जब इन्दिरा जोशी स्टेजमा उक्लिन्।

नयाँ वर्षलक्षित दोस्रो सूर्योदय सडक महोत्सवको पहिलो दिन नै नेपाली साकिराको प्रस्तुति रहने भएपछि झरी र चिसोको वास्ता नगरी फिक्कल बजारमा मानिस भेला भएका थिए। नेपाली साकिरा नामले परिचित इन्दिरा जोशीको प्रस्तुति हेर्न अवसर सूर्योदय होटल एसोसियसनले जुराइदिएको थियो।

करिब २ घण्टा कुरेपछि बिहिबार राति साढे ८ बजे ‘मेरो अघि मेरी माया आज अर्कोकी बेहुली’ भन्दै इन्दिराको स्टेज प्रवेश गरेसँगै सूर्योदय नगरवासीको प्रतिक्षाको घडी सकियो। महोत्सव भएकाले नगरका कुनाबाट मानिसहरु नगरपालिकाकाको केन्द्र फिक्कल बजारको सडकमा भेला भएका थिए। स्टेज प्रवेशसँगै कम्मर मर्काउँदै ‘तिमीलाई देखेपछि आई लभ यु आई लभ यु’ गाँउदै गर्दा दर्शकहरु उनीसँगै तालमा ताल मिलाए।

इन्दिराले ‘फिक्कलको जोश किन कम आयो म धेरैपछि आएर हो’ भन्दै दर्शकहरुलाई जुरुक जुरुक पारिन्। ‘मोटरसाइकलमा जाने हो बैनी मलाई त डर लाग्छ स्पिडदेखि भाइहरू लाने हो’ भन्दै चलचित्र प्रेमगीत– २ को गीत ‘मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी बुलेट बाइकमा’ गाउँदै आफनो कम्मर मर्काइन्। ‘उध्रेको चोली छ है’ प्रस्तुति दिँदै गर्दा युवा जोशीसँगै झुमे।

चलचित्र ठूलीको ‘म त मर्छु कि क्या हो ठूली’ गाउँदैगर्दा दर्शकहरू स्टेजमै नाच्न पुगे। दर्शकहरुले ‘वान्स मोर वान्स मोर’ भन्दै गर्दा उनले दोस्रोपटक पनि यो गीत गाइन्। जोशीले करिब ४० मिनेट सूर्योदय नगरबासीलाई लठ्ठ पारिन्।

लामो समयपछि राष्ट्रियस्तरको कलाकारको प्रस्तुति भएकाले सूर्योदय नगरवासीले उनलाई राम्रैसंग साथ दिए। महोत्सवमा शुक्रबार नविन के भट्टराईले प्रस्तुति दिनेछन्। महोत्सव आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार