इलाम । इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि पदयात्रा सम्पन्न गरेका छन् । उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन तथा पदयात्रा कार्यक्रम सम्पन्न भएको हो ।
यो क्षेत्रको दशगजामा बेला–बेला सीमा क्षेत्रका बारेमा विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा संरचना बनाउने क्रममा विवाद हुँदै आएको छ । यहाँका कतिपय ठाउँमा पक्की संरचना नै निर्माण भएका छन् । तर, बेला–बेला विद्यार्थीले गर्ने गरेको दबाब कार्यक्रम गर्दै आएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटीको अगुवाइमा आयोजित सीमा क्षेत्र पदयात्रामा २७ विद्यार्थी सहभागी भए । कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले बताए ।
उनीहरूले भारतीय सीमा सुरक्षा बल एसएसबी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतसँग पनि सीमा क्षेत्र र त्यसको अवस्थाबारे छलफल गरेका छन् । देशको भौगोलिक क्षेत्र रक्षा र सीमा बचाउन आफूहरूले दबाबमूलक अवलोकन र पदयात्रा गरेको अनेरास्ववियु जिल्ला उपाध्यक्ष सुशान्त चापागाईंले बताए ।
आफूहरूले रोङ गाउँपालिकाको पाटापुरदेखि समालबुङ, छब्बिसे, पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, मेघमा, जौबारीलगायत क्षेत्रमा पदयात्रा गरेको उनको भनाइ छ ।