फाकफोकथुम । इलामको एउटा सिङ्गो गाउँ पहिरोको जोखिममा परेको छ । गतहप्ता परेको अविरल वर्षाले जिल्लाको फाकफोकथुम गाउँपालिका– ६, सिमसाराको एउटा बस्तीको जमिन चिराचिरा भएर फाटिएको र भासिन थालेपछि स्थानीयवासीले घर छाडेका छन् । उक्त गाउँका १६ घरपरिवारका ८३ जना अहिले विस्थापित भएका हुन् ।
उनीहरू गाउँनजिकैको तिल्पुङ आधारभूत विद्यालयमा सामूहिक रूपमा बस्न थालेको वडाध्यक्ष टंकनाथ खनालले जानकारी दिए । घरहरू चर्किएको र बस्न नसकिने गरी जोखिम बढेपछि उनीहरूमा त्रास उत्पन्न भएको छ ।
वडाको एक नम्बर टोलमा पर्ने सिमसाराको बस्ती अहिले पूर्ण रूपमा जोखिममा छ । यस वडामा पहिरोबाट ३३ घरका १६५ जना प्रभावित भएका छन् भने १७ घरमा आंशिक क्षति भएको जनाइएको छ । उनीहरूले खेतीबाली लगाएको दुई सय रोपनी खेतीयोग्य जमिन पुनः प्रयोगविहीन भएको जनाइएको छ ।
उक्त बस्तीको अवस्था बुझ्न यस क्षेत्रबाट प्रतिनिधित्व गरेका संघीय सांसद सुहाङ नेम्वाङसमेतको उपस्थितिमा स्थानीय सरकारका प्रतिनिधिहरू र सुरक्षा निकायसमेतको स्थलगत अवलोकनपछि जोखिमपूर्ण बस्तीका नागरिकलाई अहिले सुरक्षित स्थानमा केही दिनका लागि राखिएको छ । तत्काल उनीहरूलाई सुरक्षित बस्ने व्यवस्थाको विकल्प खोज्नुपर्ने भएको छ ।
हाल रेडक्रस सोसाइटी उपशाखा एकतप्पाको सहयोगमा पीडितलाई त्रिपाल उपलब्ध गराइएको छ भने वडाले विद्युत् सञ्चालन गरी विद्यालयका विभिन्न कोठाहरू प्रयोग गर्न दिएको छ । विद्यालय एक महिना बिदाको समयमा स्थानीयलाई परेको समस्याका बेला प्रयोग गर्न दिइएको जनाइएको छ ।
कोदो, धान, अदुवा, अलैँचीलगायत विभिन्न प्रकारका बालीहरूसमेत नष्ट भएको पीडित मनकुमार राईले दुस्खेसो पोखे । दूध उत्पादन हुने यस ठाउँका नागरिकले घरैपिच्छे गाईवस्तु पालेका छन् । घरगोठ जोखिमपूर्ण भएपछि उनीहरूको जीविकोपार्जन गर्ने व्यवसाय पनि धरापमा पर्ने भएको छ । जिउधनको असुरक्षासँगै जिउने आधारसमेत समाप्त हुने खतरा बढेको स्थानीय सीता राईले बताइन् ।
यसअघि २०२५ सालमा पनि यस क्षेत्रमा निकै पानी परेको र पहिरोको जोखिम निम्तिएको ८२ वर्षीय स्थानीय रणबहादुर राईले बताए । जन्मेदेखि यसै ठाउँमा बसोबास गर्दै आएको तर अहिलेको जस्तो डरलाग्दो वर्षा नभएको उनले बताए ।
राई भन्छन्, ‘यस वर्षको अविरल वर्षाले घरगाउँ जोखिममा परेको छ । हाम्रो ठूलो परिवार छ । अब यो बुढेसकालमा जाने कतै बन्दोबस्त छैन । बसिरहौँ भने ज्यान जोगिन गाह्रो पर्छ । छोडेर जाऊँ भने गाउँको माया लाग्छ, मर्ने बेलामा विपत्तिले हामीलाई गर्नु गरेको छ ।