दोश्रो गोरख भेट्रान्स कपको उपाधि पूर्वेली भेट्रान्स विर्तामोडले जितेको छ । सूर्योदय नगरपालिका–५ समालबुङ स्थित सामसुङ मेमोरियल खेलमैदानमा संचालन भएको प्रतियोगिताको फाइनलमा दमक भेट्रान्स दमकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै विर्तामोडले उपाधि जितेको हो ।
उपाधिसंगै विर्तामोडले ७० हजार रुपैया प्राप्त गरेको छ । उपविजेता दमकले ३५ हजार प्राप्त गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल बराबरी खेलेका थिए । खेलमा अग्रता विर्तामोडले बनाएको थियो । तेश्रो मिनेटमा कप्तान दिनेश चौधरीले विर्तामोडलाई अग्रता दिलाए ।
१० औ मिनेटमा दमकका दिपेन गिरीले खेल बराबरी गरे । २२ औ मिनेटमा कर्ण लिम्बुले विर्तामोडलाई अग्रता दिलाए । दोश्रो हाफको चौथो मिनेटमा चन्द्र गिरीले खेल बराबरी गरे । सातौ मिनेटमा आशिष सुब्बाले दमकलाई अग्रता दिलाए । कर्ण लिम्बुले २१ औ मिनेटमा बराबरी गोल गरे ।
खेलको म्यान अफ दि म्याच दमकका कप्तान अजेन तुम्बापो घोषित भए । सर्वोत्कृष्ट खेलाडी विर्तामोडका गोलरक्षक रुपक गुरुङ र सर्वाधिक गोलकर्ता विर्तामोडकै प्रेम लिम्बु घोषित भए । गोरख भेट्रान्स फुटबलका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राई थिए ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष शरण राई, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत, कोशी प्रदेश फुटबल संघका सहमहासचिव पूर्ण फत्र र सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई रहेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राईले विभिन्न देशहरुमा पनि खेलकुदलाई प्राथमिकता राखिएको उनले आफ्नो विदेश भ्रमणको अनुभव पाएको बताए । उनले नगरपालिकाले २०८३ लाई खेलकुद बर्षको रुपमा मनाउने निर्णय भएको बताए ।
१२ महिनामा १२ कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको उनले बताए । कार्यक्रममा कोशी प्रदेश फुटबल संघका सहमहासचिव फत्र, प्रमुख प्रशासकिय अधिकृत भट्टराई, नगर खेलकुद विकास समिति अध्यक्ष सौरभ आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रममा जनक माविले कवाज र एरोविक देखाएका थिए । समालबुङमा रहेको डोजोले करातेको विभिन्न कला देखाएका थिए ।
कार्यक्रममा गोरख युनाइटेडका सचिव निराेज बम्जनले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिता गोरख टोल विकास संस्थाको आयोजना र गोरख युनाइटेड क्लबको सह आयोजनामा संचालन भएको हो ।