इलाम । पानीको श्रोत नभएका इलामका ग्रामीण बस्तीमा लिफ्ट र आकाशे पानी संकलन प्रणालीबाट स्थानीयलाई खानेपानी विरतण गरिने भएको छ । खानेपानीको पहुँजमा नभएको १३ प्रतिशत जनसंख्यालाई स्वच्छ खानेपानी वितरण गर्न बस्तिभन्दा मुनि रहेका मुहानबाट पानी तानेर विरतण गरिने भएको हो ।
पानीको मुहान नभएका चुरे क्षेत्रका बस्तिमा एक गाग्री पानीका लागि घण्टौसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न लिफ्ट प्रणालीका खानेपानी आयोजना निर्माण हुनेछन् । मुहान नभएका क्षेत्रमा लिफ्ट प्राणालि र आकाशे पानी संकलनका योजना कार्यान्वयनका लागि अध्ययन शुरु गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख मोसिउर रहमानले बताए ।
८७ प्रतिशत जनसंख्याको घरमा खानेपानी पुगेको इलाममा चुरे क्षेत्रका बस्तीमा सुख्खायाममा खानेपानी हाहाकार हुने गरेको छ । बर्षातका ६ महिना स्थानीय कुवा तथा खोल्सिमा जम्मा हुने पानी खाने चुरे क्षेत्रका बासिन्दालाई सुद्ध पानी वितरणका लागि स्थानीय खोलाबाट लिफ्ट प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको हो ।
४७ वटा खानेपानी आयोजना संचालन हुँदै आएको इलाममा स्वच्छ खानेपानी वितरण गर्न पानी प्रशोधन केन्द्र अनिवार्य जडान गरिनेछ । पानी प्रशोधन केन्द्र नबनाइएका पुराना खानेपानी आयोजनाबाट पनि स्वच्छ खानेपानी वितरण गर्न प्रशोधन केन्द्र बनाउने खानेपानी तथा सरसफाई कार्यालयको योजना छ ।
दक्षिणि इलाम र उच्च पहाडी क्षेत्रका जनताले मुहान अभावका कारण खानेपानीका लागि घण्टौसम्म खोलो र खोल्सि वर्षौदेखि धाउँदै आएका छन् ।