इलाम– इलामको रोङ गाउँपालिकाले तीन हजार आठ सय चार जनाको आँखा र कान जाँच गरेको छ । तीमध्ये दुई सय ३४ जनाको शल्यक्रिया (विभिन्न समस्याको) गर्नुपर्ने देखिएको छ । पालिकाले सञ्चालन गरेको ४५ दिनको शिविरमा यस्तो अवस्था देखिएको हो । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले १० हजार नागरिकको आँखा र कान परीक्षण गर्ने पालिकाको लक्ष्य रहेपनि अहिले सम्भव नभएको र आगामी कार्यक्रममा पुनः निरन्तरता दिइने बताए ।
पालिकाले सञ्चालन गरेको शिविरमा आँखा र कानसम्बन्धी विभिन्न समस्या देखिएका छन् । गाउँपालिका, नेपाल नेत्र ज्योति संघ, विराटनगर आँखा अस्पताललगायतको आयोजना र समन्वयमा शिविर सञ्चालन गरिएको थियो । पालिकाले नागरिकको स्वास्थ्य परीक्षणका लागि ‘रोगको खोजी’ कार्यक्रम नै सञ्चालन गरिरहेको छ । अध्यक्ष स्याङ्बोका अनुसार तीमध्ये आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था यस्ता छन्
१. मोतिबिन्दु : दुई सय ६० जनामा मोतिबिन्दु समस्या देखापरेको छ । जसमध्ये, एक सय १६ जनाको शल्यक्रिया नै गर्नुपर्नेछ । यसका लागि पनि शिविर आयोजना गरी सबैको निःशुल्क उपचार गरिने उनले जनाए ।
२. मासु पलाएको : ८८ जनामा मासु पलाएको समस्या देखिएको छ । जसमध्ये, ३६ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
३. जलबिन्दु : २७ जनामा जलविन्दुको समस्या देखिएको छ । जसमध्ये, कतिपयको शल्यक्रिया गर्नुपर्ने हो, उनीहरूको थप अस्पतालमा परीक्षण गरि अस्पतालमै शल्यक्रिया गरिने उनले बताए । यो समस्या आँखाको प्रेसरले आँखाको नसा सुक्दै जाने हो ।
र, ज्योति गुमेपछि फर्काउन नसकिने भएकाले यसलाई जटिल रूपमा हेरिएको छ । आँखाको उपचारमध्ये यो खर्चालु उपचारमा पर्ने पनि अध्यक्ष स्याङ्बो बताउँछन् ।
४. आँखाको पर्दामा समस्या : २८ जनामा आँखाको पर्दामा समस्या देखापरेको छ । यो समस्याको समेत शिविरबाट उपचार गर्न नसकिने भएकाले अस्पताल जानुपर्ने भएको छ ।
५. टेडो आँखा : २० जनामा यो टेडो आँखा समस्या देखापरेको छ । यो शल्यक्रिया शिविरमा नहुने भएपछि अस्पतालमा निःशुल्क हुने उनी बताउँछन् ।
६.आँखाको नली बन्द : चार जनामा यो समस्या देखापरेको छ । यो समस्याको उपचार अस्पतालमै हुनेछ ।
७. आँखाको लोती तल झर्ने : तीनजनामा यो समस्या देखापरेको छ । यो समस्याको उपचार अस्पतालमै हुनेछ ।

आँखाका अन्य समस्या (शल्यक्रियाबाहेक) यस्ता छन् :
१. दूर तथा अदूर दृष्टि समस्या : छ सय २७ जनामा यो समस्या छ र सबैले चस्मा लगाउनु पर्नेछ ।
२. दूरदृष्टि स् दुई सय ९७ जनामा यो समस्या देखिएकाले उनीहरूले पनि चस्मा नै लगाउनुपर्नेछ ।
३. आँखामा बोसो जमेको : २८ जनामा यो समस्या छ । यो औषधिले निको हुन्छ ।
४. सुक्खा आँखा : ३५ जनामा यो समस्या देखापरेको छ । यो समस्याको औषधिले नै समाधान हुन्छ ।
५. आँखा पाकेको : एक सय नौ जनामा यो समस्या देखापरेको छ । यो समस्या औषधिले निको हुन्छ ।
६. आँखाको आनो : पाँचजनामा यो समस्या देखापरेको छ र औषधिले निको हुन्छ ।
७. आँखा नानीमा दाग : १५ जनामा यो समस्या छ । यो समस्याको समाधान तथा रोकथाम औषधिले नै गर्नेछ । यो समस्या ठूलो भएमा अर्को आँखा नै लगाउनुपर्ने चिकित्सकले बताएका छन् ।
८. अल्छी आँखा : पाँचजनामा यो समस्या छ । यो समस्याको औषधि, थेरापी, चस्मा नै समाधान÷रोकथाम हो । पाँचजनामध्ये दुईजना १२ वर्षमुनि उमेरका रहेकाले थेरापीमार्फत् निर्मूल गर्न सकिन्छ । १२-१३ वर्षभन्दा माथि उमेर भएकाको हकमा निर्मूल हुँदैन ।
९. आँखा नानीमा घाउ : तीनजनामा यो समस्या छ । यो समस्याको उपचारका लागि रेफर गरिएको छ । तुरुन्त उपचार नभए ठूलो समस्या आउनेछ । आँखा नै फ्याक्नुपर्ने हुनसक्छ ।
१०. आँखा हल्लिने : दुईजनामा यो समस्या छ । यो समस्या समाधान हुने छैन, चस्मा प्रयोग गर्न सकिनेछ ।
कानको समस्या
१. कानेकुजी : ७० जनामा यो समस्या देखा परेको छ ।
२. कानको बाहिरी भागमा घाउ : सात जनामा यो समस्या छ ।
३. कानको जालीमा प्वाल : ४७ जनामा यो समस्या छ । औषधि र सावधानी मुख्य उपाय हो भने धेरै पाकेमा शल्यक्रिया नै गर्नुपर्नेछ ।
४. कानमा ढुसी : पाँचजनामा यो समस्या देखापरेको छ ।
५. कान कम सुन्ने : एक सय ५६ जनामा यो समस्या छ ।