ताप्लेजुङ : ताप्लेजुङमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनमा पाँचथरका विशाल राईले सर्वोत्कृष्टता हासिल गरेका छन्। राईले म्याराथनको उपाधिसँगै १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। यसअघि, उनले तिम्बुङ पोखरी ट्रेल रनमा पनि जीत हासिल गरेका थिए । रेडपाण्डा म्याराथनमा ४८ किलोमिटर दुरी पार गर्दै राईले ४ घण्टा १६ मिनेटमा दौड समाप्त गरे।
दौडको अन्तिम १०० मिटरमा उनले बझाङका करण रावललाई पछि पार्दै अग्रता लिएका थिए। रावलले ४ घण्टा १७ मिनेटमा दौड पुरा गर्दै समग्रमा दोस्रो स्थानमा रहे भने पुरुषतर्फ पहिलो बने। उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे।
तेस्रो स्थान ताप्लेजुङका रमेश लिम्बूले हासिल गरे। उनले ४ घण्टा २६ मिनेटमा दौड पूरा गर्दै ३० हजार रुपैयाँ जिते।
यस्तै, सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो स्थानमा रहेर २० हजार रुपैयाँ पुरस्कार हात पारे। फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी तय कूल ४८ किलोमिटर दुरीमा म्याराथन भएको थियो। महिलातर्फ ताप्लेजुङकी कुमारी गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ६ घण्टा १२ मिनेटमा दौड पूरा गरिन्। उनले पहिलो स्थानसहित ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन्।
गुरुङले यसअघि ताप्लेजुङ पर्यटन महोत्सवमा महिला हाफ म्याराथनतर्फ दोस्रो स्थान हासिल गरेकी थिइन्। महिलातर्फ दोस्रो स्थानमा नेपाल प्रहरी ओखलढुङ्गाकी लाक्पाङिमा शेर्पाले ६ घण्टा २९ मिनेटमा दौड पूरा गरिन् र ३० हजार रुपैयाँ जितिन्। ताप्लेजुङकी दासाङ्की शेर्पाले ६ घण्टा ३७ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहिन् र नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।
रेडपाण्डा करिडोर क्षेत्रका प्रतिस्पर्धीहरूमा राजन मेन्याङ्वो पहिलो बने। उनले ४ घण्टा ५७ मिनेटमा दौड पूरा गर्दै १५ हजार रुपैयाँ जिते। दोस्रो स्थानमा सञ्चबहादुर शेर्पाले ५ घण्टा ६ मिनेटमा दौड पूरा गरे भने तेस्रो भएका दीपक राईले ५ घण्टा १९ मिनेट २० सेकेण्डमा दौड पूरा गरे। रेडपाण्डा नेटवर्क, जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिका, पाथीभरा क्षेत्र विकास समिति लगायतका निकायहरूको सहकार्यमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा ट्रेल म्याराथन आयोजना गरेको हो।
विश्व रेडपाण्डा संरक्षण दिवसको अवसरमा आयोजना गरिएको यो म्याराथनमा एक दक्षिण कोरियाली नागरिकसहित ५१ जना सहभागी थिए।