फिक्कल । संविधान दिवसको अवसरमा इलामको १० वटै पालिकामा दिप प्रज्वलन सहित विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सदरमुकाम रहेको इलाम नगरपालिकामा जिल्ला समन्वय समितिसंग संयुक्त रुपमा ¥याली, विरामीलाई फलफुल वितरण र दिप प्रज्वलन गरिएको नगर प्रमुख केदार थापाले बताए । रत्नचोकबाट र्याली सुरु भइ इलाम चोक बजारमा कोणसभा आयोजना गरिएको थियो ।

इलाम अस्पतालका बिरामीलाई फलफूलसमेत वितरण गरियो । कोणसभाक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले चोकबजारमा झन्डोत्तोलन गरे । उनले सहभागीलाई सम्बोधन गर्दै संविधानलाई सबैको अपनत्व हुनेखालको बनाउनुपर्ने बताए । जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह सूर्योदय नगरपालिकामा दौड र नेपालको संविधानको कार्यान्वयन र यसका चुनौतीहरु अन्तरसंवाद कार्यक्रम गरिएको थियो ।
पर्यटकीय क्षेत्रबाट कन्यामबाट नगरपालिकाको कार्यालयसम्म ५ किलोमिटरको दौड गरिएको थियो । दौड लगतै कार्यालयमा संविधानको कार्यान्वय र चुनौतीको अन्तरसम्वाद आयोजना गरिएको थियो । अन्तर सम्वादमा संविधानसभा सदस्य लिला न्याचाई, प्रदेश सांसद एवम पूर्वमन्त्री शम्शेर राई, नगर प्रमुख रणबहादुर राई र अधिवक्त जेवि लुङ्गेली वक्ताको रुपमा रहेका छन् । उनीहरुलाई पत्रकार उमाकान्त खनालले सहजकर्ताको भुमिका निर्वाह गरे । नगरपालिकाले साँझ फिक्कल चोक र कार्यालय परिसरमा दिप प्रज्वलन गरेको छ ।

इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा संविधान दिवसमा सम्मान कार्यक्रम गरिएको छ । विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरिएको हो । देउराली बजार, सहिद भुमि सातखाल्डे र रामसार क्षेत्र माईपोखरी क्षेत्रमा सरसफाई गरिएको गाउँपालिका कर्मचारी रमेश भट्टराईले बताए । संविधान दिवसको अवसरमा प्रमुख प्रशासकिय कार्यालय, ५ वटै वडाहरुमा झन्डोत्तोलन र साँझमा दिपावली गरिएको थियो ।
फाकफोकथुम गाउँपालिकामा विभिन्न वडामा सडक सरफाई र कार्यालयमा दिपप्रज्वलन गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए । रोङ गाउँपालिकामा असोज २ गते शिक्षा दिवसको अवसरमा नै संविधानको बारेमा सहभागीहरुसंग स्थानीय सरकारले अन्तरक्रिया गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । आज कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ ।
देउमाई नगरपालिकाले कार्यालय परिसरमा दिप प्रज्वलन गरेको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद दाहालले बताए । माङसेबुङ गाउँपालिकामा समेत दिपप्रज्वलन गरिएको प्रवक्ता सुसन रुङमाहाङ राईले जानकारी दिए । माई नगरपालिकामा समेत दिपप्रज्वलन गरिएको वडाध्यक्ष खड्ग योङहाङले जानकारी दिए ।
चुलाचुली गाउँपालिकामा समेत दिप प्रज्वलन गरिएको उपाध्यक्ष दिलु लावतीले बताइन् । माईजोगमाई गाउँपालिकामा दिप प्रज्वलन गरिएको उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् ।
