इलाम । एन्फा वुमन्स लिगमा विभागीय टोली नेपाल पुलिस बराबरीमा रोकिएको छ । चन्द्रपुर नगरपालिका रौतहटले पुलिसलाई गोलरहित बराबरीमा रोके हो । लिगमा पुलिस विभागीय बाहेकको टोलीसंग पहिलो पटक बराबरीमा रोकिएको हो । पेनाल्टीमा पाएको मौकालाई चन्द्रपुरले सदुपयोग गर्न सकेन् ।
७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएको थियो। तर, दिलकुमारी मगरको प्रहार उषाले ड्राइभ गर्दै बचाइन्। अपराजित रहेको पुलिसको ६ खेलमा ३ बराबरी गरेको छ । यसअघि त्रिभुवन आर्मी र एपिएफ विरुद्ध पुलिसले बराबरी खेल्दै अंक बाडेको थियो । वुमन अफ दि म्याच चन्द्रपुरकी गोलरक्षक उषा थापा घोषित भइन् । उनलाई एन्फा कोच एजुकेसन हेड सन्जित सिंहले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
बराबरी नतिजाले पुलिसको उपाधि दावेदारीतामा धक्का पुगेको छ । ६ खेलबाट ३ जित र ३ बराबरी निकालेको पुलिस १२ अंकको साथ तेश्रो स्थानमा छ । उसलाई समान खेलबाट १० अंकको साथ कोशी प्रदेशले पछ्याइरहेको छ । १ जित र ४ बराबरी नतिजा निकालेको चन्द्रपुर ७ अंकको साथ छैटौ स्थानमा छ । चन्द्रपुरले आगामी असोज ४ गते दोश्रो स्थानको त्रिभुवन आर्मी विरुद्ध खेल्नेछ ।
पुलिसले ५ गते वालिङ नगरपालिकासंग खेल्नेछ । प्रतियोगितामा एपिएफ १६ अंकको साथ अग्र स्थानमा छ । दोश्रो स्थानको आर्मीको १३ अंक छ । तेश्रो स्थानमा पुलिस र चौथोमा कोशी रहेका छन् । ५ खेलबाट ५ अंक बटुलेको वालिङ पाँचौ स्थानमा छ । चन्द्रपुर छैटौ स्थानमा रहँदा ६ खेलबाट ५ अंक बटुलेको संकटा सातौ स्थानमा छ ।
५ खेलबाट ४ अंक बटुलेको बागमती युथ क्लब आठौ र १ अंक बटुलेको कर्णाली नवौ स्थानमा रहँदा सुदुरपश्चिमले ५ खेलबाट अंक जोड्न सकेको छैन् ।