Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

अन्तर विद्यालय क्रिकेटको उपाधि जुविलेन्ट इलाइटलाई

अन्तर विद्यालय क्रिकेटको उपाधि जुविलेन्ट इलाइटलाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १ २०८१


अन्तर विद्यालय क्रिकेटको उपाधि जुविलेन्ट इलाइटलाई

फिक्कल । इलाममा सम्पन्न अन्तर विद्यालय क्रिकेटको उपाधि जुविलेन्ट इलाइट एकाडेमीले रक्षा गरेको छ । ठुलो टुडिखेलमा सम्पन्न फाइनल खेलमा समता शिक्षा निकेतनलाई ७ रनले पराजित गर्दै जुविलेन्टले उपाधि रक्षा गरेको हो । यसअघिको संस्करणमा मन्टेश्वरी बोर्डिङलाई हराउँदै जुविलेन्टले उपाधि जितेको थियो ।

आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको जुविलेन्टले निधारित २० ओभरमा १० विकेट गुमाउँदै ११० रनको योगफल तयार गरेको थियो । जुविलेन्टका लागि सनम लावतीले सर्वाधिक ३० रन जोडे । सुशान्त इजमले १३ र क्रिस्टियन श्रेष्ठले १० रनको पारी खेले । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । १११ रनको लक्ष्य पछयाउँदै जवाफी ब्याटिङ गरेको समताले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिन पुग्यो ।

समताका लागि कप्तान आयुश बस्नेतले नट आउट रहदैँ ५२ रन जोडेपनि हार टार्न सकेनन् । समताको ब्याटिङ लाइन धरासायी बनाउन रेशभ ढकाल र अलराउन्डर अनुपम श्रेष्ठले समान ३÷३ विकेट लिए । ढकालले आफ्नो स्पेलको ४ ओभर बलिङमा १३ रन दिएर ३ विकेट लिए । उनी म्यान अफ दि फाइनल समेत चुनिए ।

प्रतियोगिताको व्यक्तिगत विधा तर्फ जुविलेन्टको बर्चस्व रहयो । प्रतियोगिताको बेस्ट बलर रेशभ ढकाल, बेस्ट ब्याटर अनुपम श्रेष्ठ र बेस्ट क्याचर सनम लावती चुनिए । प्लेयर अफ दि सिरिज समताका आयुश बस्नेत र इमर्जिङ प्लेयर बिबि मेमोरियलका प्रतिक रसाइली चुनिए । यसअघि ‘ग्रुप ए’ को खेलमा समताले जुविलेन्टलाई ५ विकेटले हराउँदै समुह बिजेता बनेको थियो । गत भाद्र २५ गतेदेखि संचालित प्रतियोगितामा इलामका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

‘ग्रुप ए’ मा जुविलेन्ट, समतासंगै गोल्डेन फ्युचर बोर्डिङ स्कुल र आदर्श मावि थिए । ‘ग्रुप बी’ मा बिबि मेमोरियल, प्रज्ञा सदन र फिक्कल मावि थिए । जिल्ला क्रिकेट संघ अध्यक्ष एवम नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सदस्य अर्जुन पौडेलको अध्यक्षतामा भएको खेलमा इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

बिशेष अतिथिमा कोशी प्रदेश क्रिकेट संघका सचिब टिकाराम पुरी र नगर खेलकुद बिकास समितिका उपाध्यक्ष गणेस खतिवडा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार