Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

मेटमणिको कथनप्रति झलनाथ : उनी भारतीय हुन् कि नेपाली ?

मेटमणिको कथनप्रति झलनाथ : उनी भारतीय हुन् कि नेपाली ?

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १ २०८१


मेटमणिको कथनप्रति झलनाथ : उनी भारतीय हुन् कि नेपाली ?

इलाम : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्। उनले ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख’ जस्ता भूभाग भारतको भएको बताउने उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गरे।

खनालले विज्ञप्ति जारी गर्दै चौधरीको अभिव्यक्तिको आलोचना गरे। विज्ञप्तिमा ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो रु यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक रु यो त सोह्रै आना राष्ट्रियताविरोधी अभिव्यक्ति हो। यो देशद्रोही अभिव्यक्ति पनि हो। यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो। हाम्रो पार्टी जस्तो देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो। यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना गर्न सकिन्न। अझ हामै पार्टीका ‘उपमहासचिव’ र बहालवाला ‘सांसद’बाट यस्ता अभिव्यक्ति आउनु अक्षम्य आपत्ति हो।’

खनालले चौधरीको अभिव्यक्तिका कारण नेकपा एकीकृत समाजवादी पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको बताए। उनले आम कार्यकर्ता, समर्थक र शुभेच्छुकमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको कारण चौधरीलाई कारबाही गर्न अनुरोध गरे।  खनालले थप भनेका छन्, ‘यस्ता दूषित तत्त्वबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्छु।’

गत भदौ २८ गते प्राइम टाइम टेलिभिजनमा मेटमणिले कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभाग भारतको भएको बताएका थिए। उनले सरकारले चुच्चे नक्सा निकालेर भ्रम छर्ने काम गरेको बताएका थिए। उनले ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मूर्खता मात्र भएको र नेपालले हावाका भरमा दाबी गरेको बताएका थिए। थाहाखबर

 

प्रतिक्रिया
सम्बन्धित समाचार