फिक्कल । सन्दकपुर गाउँपालिका–३ सलुबुङ पहिलो बालमैत्री वडा घोषणा भएको छ । बालदिवसको अवसर पारेर सुलुबुङ बालमैत्री घोषणा भएको हो । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ ले तोकेको ५१ वटा र गाउँपालिकाको २ वटा सुचक अनुसार मापदण्ड पुरा गरेपछि वडा नं ३ लाई बालमैत्री घोषणा गरिएको सहजीकरण संस्था मानव अधिकार मञ्चका रुद्र थेवेले जानकारी दिए ।
बाल अधिकार समिति अध्यक्ष समेत रहेका गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यता र बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष रहेका गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिसस प्रमुख जय प्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, वडा नं २ का वडाध्यक्ष सनम राई, प्रमुख प्रशासकिय अधिकृत यादव राउत लगायतले मन्तव्य राखेका थिए । बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष वडा नं ३ का वडाध्यक्ष लिल बहादुर बुर्जाको स्वागत मन्तव्य राखेका थिए । सन्दकपुरलाई बालमैत्री घोषणाको लागि मानव अधिकार मञ्चले सहजीकरण गरिरहेको छ ।

बालैमैत्री घोषणाका लागि आवश्यक प्रक्रिया गत आर्थिक बर्षमा सम्पन्न भएपछि सन्दकपुर–३ लाई औपचारिक रुपमा सभा गरेर घोषणा गरिएको सहजकर्ता रुद्र थेवेले बताए । सन्दकपुरलाई २०८३ सम्ममा बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार यस बर्ष सन्दकपुर–२ माइमझुवा र वडा नं ४ माबुलाई घोषणा गर्ने गरि काम अघि बढाइएको छ ।
आगामी बर्ष वडा नं १ माइपोखरी र वडा नं ५ जमुनालाई बालमैत्री बनाउनका लागि काम अघि बढेको थेवेले बताए ।