इलाम– हरेक शनिबार बन्द रहनेगरेका इलाम बजारका पसल अब साताको सातै दिन खुल्ने भएका हुन् । दसैं–तिहारलगायत चाडपर्व नजिकिएसँगै शनिबार पनि बजार खुला हुने भएको हो । इलाम उद्योग वाणिज्य संघले दसैं, तिहार, नेपालसंवत् र छठ अवसरमा भदौ २९ गतेदेखि सबै पसल खोल्न सूचना गरेको छ ।
उपभोक्ताको आवश्यकता मध्यनजर गर्दै कात्तिक २३ सम्मका लागि शनिबार पनि सबै पसल खोलिने संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले जानकारी दिए । केही वर्षयता शनिबार बन्द रहनेगरेको इलाम बजार सातै दिन खुला राख्न उपभोक्तको माग छ । पर्यटकीय जिल्ला भएकाले पनि इलाम घुम्न आउने पर्यटक, विद्यार्थी र कर्मचारीले शनिबार बिदाको दिन किनमेल गर्न नपाउँदा समस्या हुने गरेको उपभोक्ताको भनाइ छ ।
तर, वाणिज्य संघले भने पसलका कामदारलाई बिदा दिने प्रयोजनका लागि भन्दै केही वर्षयता हरेक शनिबार पसल बन्द गरिरहेको छ ।