Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा ७ करोडको आधुनिक प्रशासनिक भवन बन्ने

महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा ७ करोडको आधुनिक प्रशासनिक भवन बन्ने

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र २५ २०८१


महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा ७ करोडको आधुनिक प्रशासनिक भवन बन्ने

इलाम । महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको प्रशासनिक भवन निर्माणका लागि ७ करोड बजेट बिनियोजन भएको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसको एक टोलीले मुख्य प्रशासनिक भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रिय कार्यालय पुगेर बजेट माग गरेपछि बजेट बिनियोजन भएको हो ।
क्याम्पसको मुख्य प्रशासनिक भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरेको साहायक क्याम्पस प्रमुख भिम रिजालले बताए । बजेट व्यवस्था भएपछि मुख्य प्रशासनिक भवन टेन्डर लगाउने बारे छलफल भइरहेको उनले बताए ।
पूर्वी नेपालको पहाडी जिल्ला इलाममा रहेको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा उच्च शिक्षा अध्ययनको केन्द्रको रुपमा रहेको क्याम्पसको मुख्य प्रशासनिक भवन सानो रहेको छ । सोहि भवन र पुरानो लाइब्रेरी भवन भत्काएर आधुनिक भवन निर्माणको काम गर्ने क्याम्पस प्रमुख गंगाराम पौडेलले बताए ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र रत्न बहुमुखि क्याम्पसमा नयाँ र प्राविधिक धारका शैक्षिक कार्यक्रम संचालनले पूर्वी पहाडमा उच्च शिक्षा अध्ययनको केन्द्रको रुपमा रहेकाले प्रशासनिक भवन थप गर्न क्याम्पसको टोली त्रिभुवन विश्व विद्यालयको केन्द्रिय कार्यालयमा गएको थियो ।


टोलीले ६ करोड ९९ लाख बराबरको डिपिआर बुझाएको थियो । साहायक क्याम्पस प्रमुख भिम रिजाल, सिताराम घिमिरे, लेखा प्रमुख चन्द्रकान्त सुवेदी र स्ववीयू अध्यक्ष दर्शन कुलुङ राईको टोली त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय गत वर्ष पुगेको थियो । नयाँ शैक्षिक कार्याक्रमहरु थप हुँदै गइरहेको अवस्थामा मुख्य प्रशासनिक भवन सानो भएकाले नयाँ भवन निर्माणको माग गरिएको स्ववीयू अध्यक्ष दर्शन राईले जानकारी दिए । मुख्य प्रशासनिक भवनको भवनको डिपिआर भइसकेको र टेन्डरमा जानका लागि आवश्वक प्रक्रिया थालिसकिएको साहायक क्याम्पस प्रमुख भिम रिजालले बताए ।
पाँच वटा विषयमा स्नातकोत्तर तह, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकाय अन्तरगत स्नातक तहको पठनपाठन हुँदै आएको क्याम्पसमा पछिल्लो सयम नयाँ शैक्षिक कार्यक्रम थपिएका हुन् ।


वि.स.२०१७ असार २१ गते विधिवत रुपमा महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठनबाट क्याम्पस स्थापना भएको थियो । पूर्वी पहाडी क्षेत्रको उच्च शिक्षा अध्ययनको केन्द्रमा स्थापित गर्ने लक्ष्यका साथ अहिले क्याम्पसको व्यवस्थापन पक्ष लागेको छ ।
महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अहिले २ हजार ५ सय विद्यार्थी अध्ययरत छन् । अहिले भौतीक पूर्वाधार पर्याप्त रहेपनि थप गरि अन्य शैक्षिक कार्यक्रम थप गर्ने योजनामा क्याम्पस रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार