इलाम । इलामको माई नगरपालिका–२ डिपुडाँडाका सूर्यप्रसाद धितालको खेतमा खोला बग्छ । विगत ३ बर्ष देखि माईखोलाले पूर्वतर्फ कटान गर्न थालेपछि सात रोपनी नम्बरी र १० रोपनी ऐलानी खेत अहिले बगरमा परिणत भएको छ । ‘हाम्रो बुबादेखिको मुख्य पेसा कृषि नै हो । तर, अहिले जग्गाविहीन भइयो । नदी कटानको चपेटामा प¥यौँ,’ उनले भने, ‘माईको यो क्षेत्रमा सबैभन्दा बढी धान फल्छ । तर, यसरी नै नदी कटान हुने हो भने केही वर्षमा विस्थापित नै हुन्छौँ ।’
धिताल मात्र हैन् माई नगरपालिका– १ पालटारका काजी बराइलीकोे मझेनीमा रहेको पाँच रोपनी खेत नदी कटानसँगै बगरमा परिणत भएको छ । अहिले उनको खेतबाट माई खोला कुद्छ । ‘बेँसीको धानले पाँचजनाको परिवार चलेको थियो । हरियो भइसकेको धान माईखोलाले बगायो,’ बराइलीले भने, ‘अब के खाने चिन्ता छ ।’ नदी कटानले करिब दुई सय घरपरिवारलाई पुग्ने मझेनीको खानेपानीको मुहान पनि जोखिममा रहेको छ ।

माई खोलाले धार परिर्वतन गरेपछि अहिले वडा नं १, २, ७ र ८ मा दुई सय बिघा खेत नदीले कटान गरेको छ । नदि कटानले किसानहरु मर्कामा पर्दा पनि सरकारले वास्ता नगरेको स्थानीय विष्णु घिमिरे बताउँछन् । ‘यति धेरै नदी कटानको समस्या हुँदा पनि हामी सरकारको बेवास्तामा प¥यौँ । सबैभन्दा धेरै धान फल्ने ठाउँका किसान नै कटानको चपेटामा परेका छन् । मेरै पनि ३० रोपनी हाराहारी जग्गा नदीले कटान ग¥यो,’ उनले भने ‘यहाँ तत्काल तटबन्ध गर्ने हो भने स्थानीयको खेतीयोग्य जमिन कटानबाट बच्ने थियो ।’
तटबन्ध गरिदिन स्थानीयको माग
माईका किसानले सरकारसँग नदी तटबन्धन गरेर खेती बचाइदिन हारगुहार गरेका छन् । ‘मेरो ३९ रोपनी जग्गामा माई नदी बगिरहेकोे छ । ३५ बर्ष देखि खेती गर्दै आएको जमिनमा खोला कुदेपछि हामी बिचल्लीमा छौँ । यस वर्षको बाढीले सबै खेत लग्यो,’ माई– १ का किसान चन्द्रबहादुर राईले भने, ‘सबै खेती बगेपछि अब के गर्ने भन्ने अन्योलमा छौँ । अन्त कतै केही छैन । अब त बसाइँ सर्ने वेला भयो । नदीलाई तटबन्ध गरे पहिलाकै ठाउँबाट बग्ने बनाएर हाम्रो जग्गामा फेरि खेती गर्न सक्ने सरकारले बनाइदिन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

इलाम क्षेत्र नं १ (ख) बाट निर्वाचित पुर्व कानुनमन्त्री शम्शेर राई तटबन्धको लागि आफ्नो तर्फबाट पहल भइरहेको बताउँछन् । ‘इलाममा नदी कटान हुँदैन भन्ने आमबुझाइ छ । तर, चुलाचुली र माई नगरपालिका नदी कटानको चपेटामा पर्छ । माई नदीको कटानले माईका किसान उठीवास लाग्ने अवस्था छ,’ उनले भने, ‘गत वर्ष प्रदेशको बजेटले केही तटबन्धन भयो । तर, त्यो पर्याप्त हुन सकेन । जसले गर्दा अहिले पनि धेरै जमिन जोखिममा छन् । यसमा प्रदेश सरकार मात्र नभई केन्द्र सरकारले पनि ध्यान दिनुपर्छ । तटबन्धनका लागि प्रदेश र केन्द्रमा पहल गर्नेछु ।’
नगर प्रमुख खम्बसिंह लिम्बूले माई नदीको नजिकै बेँसीमा रहेका खेतीयोग्य जमिन बचाउन विभिन्न ठाउँमा करिब दुई किलोमिटर तटबन्धन गर्न आवश्यक रहेको बताए । संघीय सरकारमा करिब पाँच करोड बजेट माग गरेर लागत स्टिमेट पनि हालसम्म बजेट नपरेको उनले गुनासो गरे ।