Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बन्द इलामको उच्च पहाडका विद्यालय

बन्द इलामको उच्च पहाडका विद्यालय

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र २३ २०८१


बन्द इलामको उच्च पहाडका विद्यालय

इलाम (सन्दकपुर) । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरी क्षेत्रका विद्यालय बन्द भएका छन् । एक दशक यता विद्यालय बन्द भएपछि बालबालिकालाई पढाउन प्राथमिक तहबाट नै भारतीय सहर पठाउनुपर्ने बाध्यता रहेको छ । भारतीय सहरमा छोराछोरीसँगै अभिभावक पनि बस्नुपर्ने बाध्यता रहेको हो ।
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको ९ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा ०७२ सालमा बन्द भएको थियो । ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने विद्यालयमा विद्यार्थीको अभाव भएको हो । विद्यार्थी कम भएर विद्यालय बन्द भएपछि अहिले जौबारीबाट १५ जना बालबालिका भारतको मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् ।
जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को विद्यालय बन्द भएको छ ।
विद्यालय बन्द भएपछि लेकाली क्षेत्रका बालबालिकालाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको हो । लेकाली क्षेत्रमा विद्यालय चलाउने गरि विद्यार्थी अभाव भएपछि सीमा क्षेत्रका बालबालिका भारतीय विद्यालय अध्ययन गर्दै आएका हुन् ।
सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका छन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास बस्नु परेको हो । लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ ।
जनघनत्व कम भएको र भारतीय विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार