रोङ । इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक अनावरण गरिएको छ । सोह्रौ अन्तरास्ट्रिय “ गिद्द संरक्षण तथा सचेतना दिवस “ को अवसर पारेर करसोङ पदमार्गमा रहेको शालिक गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो र उपाध्यक्ष विष्णमाया खवासले अनावरण गरेका हुन् । शालिक निर्माणको लागि युएनडीपीले समेत लगानी गरेको थियो । फाइबरको शालिक निर्माण गर्न १ लाख ६० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए ।
उनका अनुसार शालिक राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैया खर्च भएको थियो । शालिक मेची राजमार्गबाट करिब १ किलोमिटर ४ सय मिटर दुरीमा निर्माण गरिएको छ । विशेष गरि गिद्धको पुरानो बासस्थान भएको क्षेत्र भएकाले पहिचानको रुपमा स्थापित गराउन शालिक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राईले जानकारी दिए ।
करसोङ पदमार्गमा पर्ने सलकपुर, जिर्मले लगायतका क्षेत्रमा गिद्धको बासस्थान समेत रहेको छ । दुई दशकअघि सम्म खोला र वन क्षेत्रमा सिनो लुछिरहेका गिद्धका बथान प्रशस्त पाइने गरेको थियो । अहिले चुरे भागमा केही गिद्ध मात्र भेटिएका छन् । बासस्थानका रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिँदा र आहाराको रुपमा रहेका मरेका पशुमा किटनाशक विषादी मिसिएका कारण गिद्धको अस्तित्व सङ्कटमा परेको छन् ।
गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए । ‘रोङ गाउपालिकाको करसोङ करिडोरमा गिद्धको वाससस्थान रहेको पहरो रहेको कारण गिद्धेपहरो भनिने र हरेक बर्ष गिद्धको अध्ययन र अवलोकन गर्न धेरै पर्यटकहरु आउने गरेका छन् ।’ अध्यक्ष स्याङबोले भने ।
सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ । तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्वका कारण प्रकृतिको कुचीकारको रुपमा लिइन्छ । शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु अहिंसाका पुजारी हुन् । सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ’प्रकृतिको कुचिकार’ भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो ।
सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा लगायत खानेछ फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ । एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ ।
गिद्ध पर्यावरणीय चक्र र सनातन खाध्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ ।
नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन् । विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन् ।