फिक्कल । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले युरोपियन फुटबल खेल्ने भएकी छन् । उनले ग्रीस महिला महिला सुपरलिग क्लब निस एट्रोमिटाउबाट खेल्ने भएकी हुन् । उनी सावित्रा भण्डारीपछि युरोपमा खेल्ने उनी दोश्रो नेपाली खेलाडी हुनेछिन् । ग्रीसमा उनले सिजन २०२४÷०२५ को लिग खेल्नेछिन । अञ्जिलाले पहिलोपटक एसियाबाहिर लिग खेल्न लागेकी हुन ।
युरोपको क्लबबाट खेल्न पाउँदा आफू ज्यादै उत्साहित रहेको उनले बताइन् ।‘करिअरमा पहिलोपटक युरोपियन लिग खेल्दै छु र धेरै खुसी छु,’ उनले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । मेरो पनि थियो । दुई वर्षदेखि लगातार प्रयासमा थिएँ । अहिले त्यो पूरा हुने भएको छ ।’ विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध अञ्जिला आबद्ध निसको प्रदर्शन औसत रहेको छ ।
ग्रीस महिला लिगमा निसले गत सिजन ०२३/०२४ मा औसत प्रदर्शन गरेको थियो । १४ क्लब सहभागी लिगमा निस नवौँ स्थानमा रह्यो । निसले २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ खेलमा हार व्यहोरेको थियो । अञ्जिला ग्रिसको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । यसअघि उनले भारतको लिगमा दुई सिजन बिताएकी थिइन् । उनले पाकिस्तानमा एक सिजनका लागि आबद्ध जनाएकी थिइन । भारतमा सेथु तथा पाकिस्तानमा मासा युनाइटेडबाट उनले कप्तानीको आर्म ब्यान्ड लगाएकी थिइन् ।
साउदीबाट पनि खेल्ने अवसर
नेपाली राष्ट्रिय टोलीकी प्रभावशाली गोलरक्षक अञ्जिलालाई ग्रीसको निसले सम्झौता गर्नुअघि साउदी अरेबियाबाट राम्रो प्रस्ताव आएको थियो । तर, युरोपियन लिग खेल्ने योजना बनाएकी उनले साउदीको लोभलाग्दो प्रस्ताव त्याग्दै ग्रीसलाई रोजिन् । उनले निसले भन्दा साउदी क्लबबाट राम्रो दामका साथ प्रस्ताव राखेको बताएकी छिन् । ‘साउदी लिगबाट पनि राम्रो अवसर आएको छ । सम्झौता रकम पनि राम्रो थियो । तर, मेरो सपना युरोपबाट खेल्नु थियो । यसैकारण मैले निसलाई नै रोजेकी हुँ,’ उनले भनिन् ।
इलामदेखि ग्रीससम्मको यात्रा
अञ्जिला पाँचथरको फाक्तेपमा जन्मे पनि इलामको तीनघरेबाट फुटबल यात्रा सुरु गरेकी हुन् । अञ्जिलाको फुटबल करिअर ०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुदबाट सुरु भयो । सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेव्यु गरेकी थिइन् । सोही बर्ष उनी नेपाली सिनियर राष्ट्रिय टिममा परेकी थिइन् ।
२ बर्षपछि २०१३ को १२ औ दक्षिण एसियाली खेलकुद (साग) को सेमिफाइनलमा लिला लाम्गादेलाई प्रतिस्थापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरिन् । त्यसयता उनले नेपाली टिमबाट ५० क्याप पुरा गरेकी छन् । सन् २०१९ मा भएको हिरो कपमा भारत विरुद्ध पहिलो पटक कप्तान आर्मब्यान्ड लगाएकी थिइन् । सो खेलमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो ।
सन् २०२२ मा नेपालमा भएको छैटौ महिला साफ च्याम्पियनसिपबाट नेपालको नियमित कप्तानको रुपमा आर्मब्यान्ड लगाउँदै आएकी छन् । सन् २०२१ मा पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन लिग खेलेकी उनी प्रतियोगिता नै बिचमा रद्द भएपछि घर फर्किइन् । त्यसपछि उनले दुई सिजन भारतको सेथु एफसीबाट खेलेकी थिइन । ‘भारतमा दुई वर्ष खेलेपछि आत्मविश्वास पनि बढेको छ,’ उनले भनिन्, ‘अब, युरोपमा खेल्न आफूलाई नै तयार भएजस्तो लाग्छ ।’