Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै इलाम नगरपालिका

शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै इलाम नगरपालिका

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १७ २०८१


शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै इलाम नगरपालिका

इलाम । १३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ । भारतीय दूतावासको सहयोगमा कूल पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा शीतभण्डार निर्माण सम्पन्न भएको थियो । शीतभण्डार निर्माण पूर्व सम्भाव्यता अध्ययन नगरिएकाले र एउटै मात्र कोठा (चेम्बर) निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकारहरू बताउँछन् ।

यति लामो समयसम्म शीतभण्डार चलाउन नसकिएपछि यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालले बताइन्। ‘अहिलेसम्म चलाउनै सकिएन अब यसमा के गर्दा ठिक होला, सबैसँग सल्लाह सुझाव माग्न थालेका छौँ । उपयुक्त काममा प्रयोगमा ल्याउन खोजिरहेका छौँ,’ उप–प्रमुख दाहालले भनिन् ।  दुई हजार मेट्रिकटन क्षमता भएको शीतभण्डारलाई एक पटक ठेक्कामा लगाइए पनि सञ्चालन हुन नसकेको इलाम नगरपालिका इन्जिनियर दीपक गुरागाईँले बताए ।

उनका अनुसार शीत भण्डारमा जडान गरिएको बिजुलीलाई पाँच वर्षअघिनै काटिएको छ । ‘नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको थियो, सञ्चालन गर्न पाँच–छ जना व्यक्तिहरू आउनु भएको पनि हो । कुराकानी भएपछि केही दिनमा आउँछौँ भनेर जानेहरू फेरि आउनु भएन । एक पटक सञ्चालन भएको थियो तर सञ्चालन कर्तालेनै चलाउनु भएन,’ गुरागाईँले भने , ‘शीतभण्डार सञ्चालन गर्न नगरपालिकाले पनि पाँचवर्ष सम्म निःशुल्क दिने, विद्युतको महसुल तिरिदिने लगायतका सर्त समेत अघि सारेको थियो । तर सञ्चालन हुनै सकेन ।’

सुन्तला, किवी, आलु, उत्पादक कृषक, हरियो चिया उत्पादक कृषक र चिया सहकारी संस्था, जडिबुट्टी उत्पादक कृषक तथा स्थानीय तरकारी तथा फलफूल व्यवसायीलाई लक्षित गरी शीतभण्डार निर्माण गरिएको थियो । ‘प्रविधिक रूपमा शीतभण्डारको भवन गल्ती छैन तर भित्र एउटै चेम्बर भएकाले र कृषि उपजको सम्भाव्यता अध्ययन नभएकाले थोरै गल्ती भएको हुनसक्छ । त्यसलाई अझै सुधार गर्न भने सकिन्छ,’ इन्जिनियर गुरागाईँले भने, ‘तर, धेरै प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन । संरचना चाहिँ राम्रै छ ।’

शीतभण्डार सञ्चालनमा नआएपछि अहिले त्यस संरचनामा नगरपालिकाले पाइप, पुराना सामग्री लगायतका थन्क्याएको छ । गोरखापत्र

प्रतिक्रिया
सम्बन्धित समाचार