इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) खेलाडीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । एन्फाले खेलको दौरान घाइते भएका र उपचार गराइरहेका ८ जना खेलाडीलाई ५० हजार देखि ३ लाख ७ हजारसम्म उपचार खर्च गराउने निर्णय गरेको हो । कार्य समितिको बैठकले महिला राष्ट्रिय टिमकी कप्तान रेनुका नगरकोटीलाई १ लाख ९३ हजार, पुर्व कप्तान नवयुग श्रेष्ठलाई ५१ हजार ३१, राजेश परियारलाई २ लाख ७१ हजार २ सय ४३ र कुसुम खतिवडालाई ५१ हजार रुपैया उपलब्ध गराउने भएको हो ।
त्यसैगरी दिपक मगरलाई ५० हजार, गोलरक्षक अभिषेक बराललाई १ लाख २७ हजार, दिनेश हेन्जन र फत्तेमान घलेलाई ३ लाख ६ हजार ७ सय ४७ तथा प्रशिक्षक गंगा गुरुङलाई ३ लाख रुपैया उपलब्ध गराउने भएको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले जानकारी दिए ।
बैठकले खेलाडीहरुको बिमा गर्ने निर्णय समेत गरेको थियो । एन्फाले उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई छनौट गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने पनि निर्णय गरेको छ । साथै खेलाडीहरुको पारिश्रमिक बृद्धिसँगै वर्गिकरण अनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
एन्फाको निर्णय पछि अध्यक्ष लामाले संघमा कर्मचारीको संख्या र तलब बृद्दि भन्दा खेलाडिहरुको निम्ती खेल्ने स्वच्छ बातावरण, खेल शिक्षा, प्रशिक्षक तथा प्राविधिक शिक्षा, फुटबलका प्रतियोगितात्मक कार्यक्रमहरुमा लगानी बृद्दि गर्दा फुटबलको स्तर उकालो लाग्ने बताए ।उनले त्यही फुटबलमय बातावरणले कर्मचारीको संख्या तथा तलब पनि पर्याप्त मात्रामा बढाउनेछ भन्ने कुरामा म बिस्वस्त रहेको बताए ।