Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

दक्षिणि इलामको चुरे क्षेत्रका किसानको आम्दानी केरा खेती (तस्बिरहरु)

दक्षिणि इलामको चुरे क्षेत्रका किसानको आम्दानी केरा खेती (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, भाद्र १२ २०८१


दक्षिणि इलामको चुरे क्षेत्रका किसानको आम्दानी केरा खेती (तस्बिरहरु)

इलाम । इलाको चुरे क्षेत्रका किसानको आम्दानीको श्रोत केरा खेती भएको छ । चुरे क्षेत्रका झोडा, खोला, खोल्सि क्षेत्र र सिचाई सुविधा नपुगेको क्षेत्रमा खेती हुँदै आएको केरा किसानको घरखर्चको माध्यम भएको हो ।
बगानबाटै उचित मूल्यमा बिक्रि हुन थालेपछि इलामको चुरे क्षेत्रमा केरा खेती फस्टाउँदो छ । दक्षिणी इलामको चुरे क्षेत्रका किसानको आम्दानीको श्रोत केरा खेती भएको हो ।
माइ नगरपालिका, चुलाचुली, माङसेवुङ र रोङ गाउँपालिकामा बढी मात्रामा केराखेती हुँदै आएको हो । चुरेका किसानले स्थानीय प्रजातीका केरा खेती गर्दै आएका छन् ।
चुरे क्षेत्रमा क्षेत्रमा २ हजार बढी किसानहरुले केरा खेती गर्दै आएको तथ्याङ्क छ । यहाँ उत्पादित केरा दिनहुँ झापाका बजार हुँदै काठमाण्डौसम्म पुग्ने गरेका छ । चुरे क्षेत्र हावापानीका हिसाबले उपयुक्त भएको र सिचाई कम हुने भएकाले किसानले केरा खेती गर्दै आएको माई नगरपालिका ३ का तेज बहादूर घिमिरेले बताए ।


चुरे क्षेत्रको माइ नगरपालिका–५ कालीखोलाको केरा काठमाडौँमा पनि लोकप्रिय छ । केरा खेती गर्दा आम्दानीसँगै अन्य बोटविरुवाको संरक्षण समेत हुने भएकाले किसानहरुले केराखेती गर्दै अएका छन् । हिउँदमा पनि हरियो नै रहने केराका बोटले अन्य बिरुवा हुर्काउँदा छहारीको काम गर्छ । यस्तै केराको बुङ्गाको प्रयोग अचारमा र दाम्चा पशु आहारा प्रयोग हुन्छ ।


चुरे क्षेत्रका किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रुपमा खेती गर्दै आएका छन् । चुरेमा पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जङ्गल सरह केराका बगान भेटिन्छन् । केराखेतीलाई पानीे समेत त्यत्ति आवश्यक नपर्ने भएकाले उपयोगमा आउन नसकेको जमिनमा खेती गर्दा आम्दानीको श्रोत भएको हो । किसानले खेती गरेको केरा घरबाटै बिक्रि हुने गरेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
गाउँमा व्यवसायी केरा संकलन गर्न सवारीसाधन लिएर सोझै पुग्ने गरेका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार इलाममा २ सय ५० हेक्टर बढी क्षेत्रफलमा केरा खेती हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार