फिक्कल । इलामको रोङ गाउँपालिकामा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ । चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए ।
उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए । उनले गाउँपालिका भित्र उत्पादन भएको बेसारले कुल माग धान्न समेत नपुग्ने देखिएको बताए । ‘रोङ गाउपालिका भित्र बार्षिक करिब १२ हजार केजि बेसारको माग छ । करिब ५ हजार केजि माग आफ्नै उत्पादनले पुग्छ तर ७ हजार केजि बेसार अहिले पनि आयत हुदैछ । आत्मनिर्भर हुने अनि निर्यात गर्ने बेसारको हकमा रोङको आवश्यकता आत्मनिर्भर हो ।’ उनले भने
वडाध्यक्ष हुँदा बुटबलबाट २०७७ सालमा २ सय केजी बिउ ल्याएर रोङ गाउँपालिका–६ सलकपुरमा हुर्काइएको “कपुरकोट हलेदो २“ जातको बेसार २०८० सालमा ८ सय केजी इको सहकारीलाई बिउ अनुदान दिइएको स्याङबोले जानकारी दिए । हाल ३ सय केजी तयार गरि प्याकेजिङ्ग सहित बजार ल्याउने अन्तिम तयारीमा पुगेको उनले बताए ।
गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो । गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए । गतबर्ष ८४० केजी बेसार रोपणबाट ४ हजार ३५० केजी उत्पादन भएको उनले बताए ।
बँदेल, बाँदर लगायतका जंगली जनावरले बारीमा लगाइएको अन्न तथा नगदेबालीमा असर पु¥याउन थालेपछि किसानले बेसार लगाउन थालेका हुन् । सहकारीमा चार सय ५५ सदस्य रहेका छन् । यस वर्ष एक हजार नौ सय ९५ किलो बेसार गाउँपालिकाका वडा नं ३, ४ र ५ मा वितरण गरेर खेती गरिएको छ । यसको बजार खोज्न समस्या नभएको बताइएको छ ।
झापाको बिर्तामोड नजिकै भएकाले पनि यहाँ उत्पादित बेसारलाई बजारीकरणमा खास समस्या नरहेको बताइएको छ । बेसार दैनिक उपभोग्य वस्तु भएकाले रोङमा आएर पनि उपभोक्ताले बेसार लैजाने गरेको किसानको भनाइ छ ।