इलाम । देश संघीय संरचनामा बदलिएपछि इलामबाट हटाइएको भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पुनःस्थापन भएको छ । पशु सेवा विज्ञ केन्द्र स्थापनापछि पशुपालन गर्दै आएको किसानले पशु उपचारका सेवा लिन झापा पुग्नुपर्ने बाध्यता हटेको छ ।
नेपालको संविधान लागुपछि इलाममा रहेको पशु सेवा कार्यालय झापा सारिएको थियो । कोशी प्रदेश सरकारको मातहत भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र झापामा स्थापना भएपनि इलाममा सम्पर्क कार्यालय मात्रै थियो ।
व्यवसायीक रुपमा पशुपालन हुँदै आएको इलाममा कार्यालय नहुँदा पशु उपचारको सरकारी सुविधा लिन किसानलाई झापा पुग्नुपर्ने बाध्यता थियो । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट इलाममा भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र पूर्ण रुपमा संचाललन गर्ने निर्णयपछि पशुपालक किसान खुशि भएका छन् । इलाममा विज्ञ केन्द्र कोशी प्रदेशका अर्थमन्त्री राम बहादूर रानाबाट असार २७ मा उद्घाटन भएको थियो ।
विज्ञ केन्द्र स्थापना भएपछि चालु आर्थिक वर्षबाट पशु उपचार, रोग निदान, माहामारी नियन्त्रण लगायत प्रदेश सरकारले दिन सबै सेवा सुचालु भएको केन्द्र प्रमुख डा राघबेन्द्र तिवारीले बताए ।
८ जनाको दरबन्दि रहेको विज्ञ केन्द्रमा अहिले ४ जना जनशक्ति छन् । विज्ञ केन्द्रले पशु उपचारको मेडिकल, सर्जरी, बध्याकरण, गोबर, दूध परिक्षण, माहामारी र थुनेलो रोग नियन्त्रणको सेवा दिनेछ । केन्द्रले चालु आर्थिक वर्षमा एकिकृत घुम्ति शिविर, भेटेरिनरि नियमन, माछा पालनबारे तालिम, शिविर, भुरा बितरणको कार्यक्रम गर्ने योजना छ ।
केन्द्रले व्यवसायीक पशुपालनका लागि उन्नत घाँस वितरण, साइलेस निर्माण र रेबिज रोग नियन्त्रण लगायतका कार्यक्रम गर्नेछ । व्यवसायीक पशुपालन हुँदै आएको इलाममा किसानलाई घरदैलोमा नै सेवा दिन विज्ञ केन्द्र स्थापना गरेको कृषि तथा पशुपक्षि विकास मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।
व्यवसायीक रुपमा पशुपालन हुँदै आएको इलाममा दूध उत्पादन पनि अधिक हुन्छ । उत्पादन भएको दूध दुग्ध विकास संस्थान र नजी डेरी उद्योगमा प्रशोधन हुने गरको छ ।