Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बढ्यो तरकारीको मूल्य

इलाममा बढ्यो तरकारीको मूल्य

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ३१ २०८१


इलाममा बढ्यो तरकारीको मूल्य

इलाम– इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दिनहुँ झापाका बजारमा निकासी हुने गरेको छ । झापाका चारआली, बिर्तामोड, दमकमा इलामको तरकारी पुग्नेगरेको छ । तर, यतिबेला इलाममै तरकारीको मूल्य आकाशिएको छ । अहिले गोलभेंडा प्रतिकिलो ८०, प्याज प्रतिकिलो एक सय, भिन्डी प्रतिकिलो एक सय २०, बैगुन प्रतिकिलो एक सय २०, बन्दागोपी प्रतिकिलो ६० रुपैयाँ पुगेको छ ।

अकबरे प्रतिकिलो चार सय रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार लाग्ने इलाम सदरमुकामको हाटमा समेत तरकारीको मूल्य बढेको पाइएको छ । सदरमुकाममै तरकारी व्यापार गरिरहेकी लक्ष्मी खत्रीले प्याज र गोलभेंडाको मूल्य बढेको बताइन् । ‘गोलभेंडा प्रतिकिलो ७०–८० रुपैयाँ रहेकामा सय रुपैयाँ भएको छ,’ खत्रीले भनिन्, ‘प्याज त अस्ति प्रतिकिलो एक सय २० पुगेको थियो, केही दिनयता घटेर एक सय भएको छ, अब बढ्ने सम्भावना छ ।’

आफैंले उत्पादन गरेको अकबरे बिक्री गर्न इलाम बजार आएकी इलाम नगरपालिकाकी दीपा पोख्रेल प्रतिकिलो चार सय रुपैयाँले अकबरे बिक्री गरेको बताउँछिन् । ‘यो वर्ष सुरुमै अकबरेको मूल्य राम्रो छ । राम्रो फलेको पनि छ,’ पोख्रेलले भनिन्, ‘बिक्री गर्दा चाहिँ मूल्य राम्रै हो तर अरू तरकारी चाहिँ सधैंको तुलनामा निकै महँङ्गो भएको छ ।’

गोलभेंडा उत्पादनको सिजन सकिन लागेकाले पनि मूल्य बढेको व्यापारी बताउँछन् । जिल्लाका धेरै किसानले बेमौसमी तरकारीका रूपमा टनेलभित्र खेती गरेको र हिउँदमा भन्दा वर्षायाममा उत्पादन कम हुने कारण तरकारी महँङ्गो भएको अनुमान छ । तरकारीको मूल्य बढेपछि सदरमुकामसहित जिल्लाका बजार क्षेत्र र विद्यालय, कलेज पढ्न डेरा बस्ने विद्यार्थीलाई भने समस्या पर्नेगरेको छ ।

‘घरबाट तरकारी ल्याउन धेरै टाढा छ, यहाँ किनेर खान पनि महँङ्गो छ, कोठा भाडा र तरकारी किन्न निकै मुस्किल छ,’ ताप्लेजुङ्गबाट आएर इलाम डेरा गरिबस्ने विद्यार्थी सावित्रा पौड्यालले भनिन्, ‘तरकारीको मूल्य बढेपछि विद्यार्थी समस्यामा छन् ।’ इलाममा उत्पादन हुने इस्कुस र काँक्राको पनि मुख्य सिजन यही हो । बजारमा कांँक्रा प्रतिगोटा ६० देखि एक सय रुपैयाँसम्म पर्ने गरेको छ ।

इस्कुस पनि प्रतिकिलो २० रुपैयाँ पर्नेगरेको छ । इलाममा कति तरकारी उत्पादन हुन्छ र दैनिक कति टन तरकारी निकासी हुन्छ भन्ने यकिन तथ्यांक भने पाइँदैन । पालिका पेज

प्रतिक्रिया
सम्बन्धित समाचार