Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगर भन्सारमा लक्ष्य भन्दा २५.९२ प्रतिशत कम राजस्व संकलन

पशुपतिनगर भन्सारमा लक्ष्य भन्दा २५.९२ प्रतिशत कम राजस्व संकलन

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ३० २०८१


पशुपतिनगर भन्सारमा लक्ष्य भन्दा २५.९२ प्रतिशत कम राजस्व संकलन

फिक्कल । इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले ७४.०८ प्रतिशत राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा २५.९२ प्रतिशतले कमी हो । कार्यालयले आव २०८०/०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले निर्धारण गरेको लक्ष्य ४ महिनामा मात्र पुरा गरेको छ । साउन महिनामा २७ लाख ८३ हजार लक्ष्य निर्धारण गरेकोमा १३ लाख ७० हजार ९ सय ४३ (४९.२६%) मात्र पुरा गरेको छ । भदौ महिनामा ३२ लाख २७ हजारमा १२ लाख ६ हजार २ सय ४४ (३७.३८%), असोजमा ३५ लाख ३४ हजारमा १४ लाख ६१ हजार २ सय ५६ ( ४१.३५%), कार्तिक महिनामा ३१ लाख ७८ हजार लक्ष्य निर्धारण भएकोमा ३३ लाख ३८ हजार ८ सय ९४ (१०५.०६%), मंसिर महिनामा ३३ लाख ३९ हजार लक्ष्य राखिएकोमा २५ लाख ५३ हजार ४ सय ३१ (७६.४७%) संकलन भएको छ ।

त्यसैगरी पुष महिनामा ३१ लाख १० हजारमा ३३ लाख २८ हजार ६ सय ६३ (१०७.०३%), माघ महिनामा २७ लाख ८९ हजार लक्ष्यमा २८ लाख ३६ हजार ६ सय ६० (१०१.७१%), फागुन महिनामा ३० लाख ६३ हजार लक्ष्यमा १६ लाख २ हजार ६ सय ४५ (५२.२९%) र चैत्र महिनामा २९ लाख ५१ हजार लक्ष्यमा २१ लाख १० हजार ८ सय १८ (७१.५३%) सकलन भएको छ ।

२०८१ बैशाखमा २७ लाख ६१ हजारमा ३४ लाख २४ हजार ८ सय ४९ (१२४.०४%), जेठ महिनामा ३१ लाख ७९ हजार लक्ष्य राखिएकोमा २३ लाख ८१ हजार ६ सय ६६ (७४.९२%) र असार महिनामा २८ लाख ९९ हजार लक्ष्यमा १६ लाख ५५ हजार ५ सय ५२ (५७.११%) लक्ष्य प्राप्त भएको नायब सुब्बा बिनोद आचार्यले जानकारी दिए ।

पशुपतिनगर भन्सार भएर नेपालमा उत्पादन भएको कृषिजन्य वस्तु भारत निकासी हुने गरेको छ । त्यस्तै भारतबाट खाद्यान्न लत्ताकपडा लगायतका वस्तु उक्त नाकाबाट निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा आयात तर्फको भन्सार महसुल, आयात तर्फकै मुल्य अभिवृद्धि कर, अग्रिम आयकर लगायत गरी उक्त रकम जम्मा भएको कार्यालय प्रमुख प्रवीण सुब्बा लिम्बूले जानकारी दिए ।

कार्यालय प्रमुख लिम्बूले नेपाल भारत सीमा क्षेत्रमा आइरहने उतारचढावका कारण भन्सार राजस्व असुलीको लक्ष्यमा पुग्न नसकेको जानकारी दिए । उनका अनुसार नेपालतर्फ भन्सार भए पनि भारततर्फ इन्डियन कस्टम नभएका कारण बिल जारी नहुने हुँदा पशुपतिनगर भन्सारको राजस्व असुलीमा प्रभाव पर्ने गरेको बताए । भारतले अहिले सुकियामा इन्डियन कष्टम राख्ने बताउँदै आए पनि अहिलेसम्म कार्यालय स्थापना गरेको छैन ।

सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले भारततर्फ कष्टम नहुँदा निकासी पैठारीमा सधैँ समस्या आउने गरेको बताए । उनले भने ‘‘भारततर्फ इन्डियन कष्टम राख्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्छ हामी यहाँ तल कराएर केहि हुँदैन ।’’

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई करोड ७१ लाख ८२ हजार ६५ रुपियाँ राजस्व जम्मा भएको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ८९ हजार पाँच सय ५६ रुपियाँ बढी राजस्व उठेको कार्यालयका नायब सुब्बा प्रकाश सुनुवारले जानकारी दिए ।

भन्सार कार्यालय पशुपतिनगरले आर्थिक वर्ष २०८१/०८२ का लागि तीन करोड ५१ लाख नौ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको नायब सुब्बा सुनुवारले जानकारी दिए । पशुपतिनगर भन्सार भएर नेपालबाट पशु चौपाया समेत निर्यात हुने गरेको छ । सीमा क्षेत्रबाट हुने तस्करी र राजस्व छलीका कारण समेत पशुपतिनगर भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार