फिक्कल । शैक्षिक गुणस्तर सुधारका लागि सूर्योदय नगरपालिकामा ‘प्रधानाध्यापक नवीन अध्ययन मञ्च’ गठन भएको छ । हिमालय मा.वि गोर्खेका प्रधानाध्यापक श्री कुल बहादुर ईम्सङको नेतृत्वमा मञ्च गठन भएको । मञ्चमा नगर क्षेत्रका माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरु सदस्य रहनेछन् । सूर्योदय नगरपालिका आधारभुत माध्यमिक शिक्षा नियमावली २०७६ को चौथो संसोधनमा भएको व्यवस्था बमोजिम मञ्च गठन भएको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए ।
उनले माध्यमिक तहको शिक्षामा गरेको लगानी अनुसार प्रतिफल नदेखिएपछि सुधारको लागि मञ्च गठन गरिएको बताए । उनले शिक्षकहरुको तालिम, पेशागत सुधार, वृति विकास, अभिभावक शिक्षा, पोषण, विद्यार्थी नियमितता, अभिभावक सक्रियता, विद्यालय आन्तरिक नियन्त्रण र व्यवस्थापन सुधार गर्दै विद्यालयका श्रोत अधिकतम उपभोग गर्ने बिषयमा मञ्चको भुमिका रहने बताए ।
उनले भने ‘गुणस्तर सुधारका लागि यस बर्ष पनि कार्यक्रम केन्द्रीत भएको छ । शैक्षिक भौतिक कार्यक्रम निरन्तर चलिरहेका छन् । नगर शिक्षा योजना भएका कार्यक्रमहरु नगरको नीति कार्यक्रममा समेटेर सार्वजनिक भएको छ । विद्यालयको भौतिक निर्माण, आइसिटीका कामहरु आर्थिक बर्ष २०७५/७६ देखि गर्दै आएको छ । शाखा निरन्तर शिक्षाको गुणस्तर सुधारको काममा नै लागेको छ ।’ उनले भने
मञ्चको हरेक महिना संयोजक परिर्वतन हुनेछन् । संयोजक विद्यालयले हरेक महिना विभिन्न विद्यालयमा गएर शिक्षाको अवस्था र गरेको गतिविधिहरुको बारेमा छलफल गर्दै पाएका निष्कर्ष मासिक बैठकमा प्रस्तुत गर्नुपर्नेछ । सम्बन्धित विद्यालयमा भएका असल अभ्यासलाई सरोकारवाला पक्षहरुको सहभागितामा प्रस्तुतीकरण सहित सुझाव दिनेछन् ।
मञ्चको गठन प्रधानाध्यापकको नेतृत्व विकाससंगै विद्यालयहरुले गरेको असल अभ्यासका कार्यहरुलाई आदान प्रदान गर्दै शैक्षिक गुणस्तर सुधारमा सहयोगी रहने भट्टराईले बताए । त्यसैगरी सूर्योदय नगरपालिका कार्य सम्पादन निर्देशिका २०७८ बमोजिम शाखाले विद्यालय र प्रधानाध्यापकसंग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
सम्झौता कार्यक्रममा नगर प्रमुख रणबहादु राई, उपप्रमुख दुर्गा कुमार बराल, वडा नं २ का वडाध्यक्ष डिक बम्जन लगायतको उपस्थिती थियो । शाखाले एक शैक्षिक सत्र भित्र सम्पादन गरिसक्नु पर्ने गरि विभिन्न सूचक निर्धारण गरिएको छ । जसलाई सफटवेयर मार्फत डाटा प्रविष्ट गरिनेछ ।
‘ विद्यालयमा सफ्टवेयर प्रदान गरिएको छ । सफटवेयरमा विद्यालयले आफै मुल्यांकन गरेर राख्नेछन् । सफटवेयरको मुल्यांकनलाई पालिकाले भेरिफाइ गरेर उत्कृष्ट विद्यालयलाई हरेक बर्ष पुरस्कृत गरिनेछ ।स्थानीय पाठ्यक्रम परिमार्जन र सुधार काम अघि बढाइएको छ । ’
भट्टराईले भने ‘ दरबन्दी मिलान गरे धेरै विद्यार्थी भएकोमा दरवन्दी व्यवस्थापन गर्ने कार्य समेत अघि सारिएको छ । माध्यमिक तहका विद्यालयका विज्ञहरुबाट आधारभुत तहका शिक्षालाई अभिमुखीकरण गर्दै रोष्टर शिक्षक र मेन्टर शिक्षक लिएर विद्यालयमा जाने कार्य यस बर्षबाट अघि बढाइएको छ । ’
