Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २६ २०८१


सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी

काठमाडौँ — संघ र सातै प्रदेश सरकारबाट बाहिरिएपछि माओवादी केन्द्र पार्टी पुनर्निर्माणमा तातेको छ । माओवादीले यही साता केन्द्रीय पदाधिकारी, स्थायी समिति बैठक र कोशी प्रदेशस्तरीय भेला एवं प्रशिक्षण गरेको छ । स्थायी समिति बैठकपछि पूर्ण केन्द्रीय समितिको बैठक गर्ने तयारी छ ।
सत्ताबाट हटेपछि पार्टी पुनर्निर्माणमा तात्दै माओवादी
शुक्रबार सुरु भएको स्थायी समिति बैठकले पार्टीले चलाउने देशव्यापी अभियानको प्रस्ताव तयार गर्नेछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार उक्त प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेपछि देशव्यापी रूपमा पार्टी संगठन सक्रिय हुनेछ । स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहालले पार्टी निर्माणका लागि जनतामा जाने अभियान चलाउनुपर्ने प्रस्ताव राखेका थिए ।

आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्यायका मुद्दा लिएर जनतासमक्ष जाने कार्यक्रम बनाइने उनले उल्लेख गरे । दुई मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेबीच सत्ता स्वार्थ मिलेका कारण आफ्नो सरकार ढलेको दाहालको भनाइ थियो । ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार गयो,’ बैठकमा दाहालले भने, ‘अब हामी सुशासनको मुद्दा लिएर जनतासमक्ष जानुपर्छ र पार्टी निर्माणका लागि अभियान सुरु गर्नुपर्छ ।’ उनले अहिलेको सरकारलाई ‘भ्रष्ट’ भनी टिप्पणी गरेका थिए ।

२०७९ को आम निर्वाचनपछि फरक–फरक गठबन्धन बनाएर सरकारको नेतृत्वमा रहँदा माओवादीको संगठन अस्तव्यस्त बनेको थियो । अध्यक्ष दाहालसहित नेताहरू संघ र प्रदेशको सत्तामै केन्द्रित थिए । असार तेस्रो साता कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेर सत्ताबाट बाहिरिएपछि मात्र माओवादीको ध्यान पार्टी निर्माणमा सोझिएको हो ।

गत मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरूले सत्ता मोहका कारण पार्टी संगठन लथालिंग भएको उल्लेख गर्दै जसरी पनि सरकारमा जाने मनस्थिति त्याग्नुपर्ने धारणा राखेका थिए । त्यसपछि दाहालले आफू सरकार बनाउने खेलमा नलाग्ने दाबी गर्दै अधिकांश समय जनतासमक्ष गएर बिताउने प्रतिबद्धता व्यक्त गरे । अब जनतामाझ गएर माओवादीले उठाउँदै आएका संघीयता, समानुपातिक र समावेशी नीतिको कार्यान्वयनमा जोड दिने अभिव्यक्ति दाहालले शुक्रबार पनि दोहोर्‍याएका छन् ।

कांग्रेस र एमालेको गठबन्धन बन्नुअघि माओवादी सरकार निर्माणमा निर्णायक अवस्थामा थियो, अहिले भने कमजोर छ । संसद्मा बलियो उपस्थिति बनाउन उसले मिल्ने मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायत विपक्षी दलसँग मोर्चाबन्दी गर्ने र सडकमा समाजवादी मोर्चालाई सँगसँगै अघि बढाउने योजना बनाएको छ । ‘अध्यक्षले सदन र सडकमा मोर्चाबन्दी गरी सरकारलाई खबरदारी गर्ने प्रस्ताव बैठकमा राख्दै हुनुहुन्छ,’ एक पदाधिकारीले भने ।

स्थायी समिति बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा र आफ्नो सरकारले सुरु गरेका सुशासनलगायत मुद्दा लिएर संसद्मा आक्रामक रूपमा प्रस्तुत हुने बताए । ‘पार्टी पुनर्निर्माणका लागि केन्द्रदेखि जिल्लासम्म र संसद्देखि सडकसम्म अभियानकै रूपमा पार्टी संगठनहरू पूर्णरूपमा क्रियाशील हुनुपर्नेछ,’ दाहालको भनाइ थियो, ‘हामीसँग संविधानको रक्षा, समावेशी, समानुपातिक र सुशासनका साथै सामाजिक न्यायका एजेन्डा छन् । आवश्यक परे आन्दोलन गर्नुपर्ने हुन्छ ।’

माओवादीको केन्द्रीय र स्थायी समिति बैठक गत पुसमा बसेको थियो । फागुन पहिलो साता भएको विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित केन्द्रीय समितिको प्रावधानसहित नयाँ विधान पारित गरेको थियो । माओवादीले गत फागुन तेस्रो सातामा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सहकार्य गरेको थियो । वामपन्थी एकताका लागि गठबन्धन गरेको अध्यक्ष दाहालको भनाइ थियो । सत्ताबाट बाहिरिएपछि भने दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्नु गलत भएको बताउने गरेका छन् ।

बैठकमा दाहालले ओली सरकारले सुशासन विरोधी र भ्रष्टाचारलाई प्रश्रय दिएको टिप्पणी गरेका थिए । हालै बंगलादेशमा भएको राजनीतिक उथलपुथलको मनोवैज्ञानिक असर गठबन्धन सरकारलाई परेको दाहालको दाबी छ । ‘हामीले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट बाहिरिनुपरेको सन्देश जनता माझ गएको छ,’ उनले बैठकमा भनेका थिए, ‘भ्रष्टाचारविरोधी आन्दोलन गर्नुपर्ने बेला आएको छ ।’

माओवादीमा पार्टी नेतृत्वको कार्यशैलीका विषयमा आलोचना हुँदै आएको छ । अध्यक्ष दाहालको दायाँबायाँ नीतिले समाजवादी आन्दोलन नै कमजोर भएको उनीहरूको भनाइ छ । दाहालले डेढ वर्ष सरकारको नेतृत्व गरे पनि समाजवादको आधार तयार गर्ने कार्यक्रम ल्याउन नसकेको, सरकार टिकाउन कहिले कांग्रेस, कहिले एमालेसँग सम्झौता गर्दा माओवादीका मुद्दा ओझेलमा परेको नेताहरूले बताएका छन् । ‘समाजवादी क्रान्तिका आधार तयार गर्ने भनेर सरकारमा गएको हो,’ सचिव राम कार्कीको टिप्पणी छ, ‘त्यसको आधार बन्यो कि भत्कियो रु समीक्षा नगरी अघि बढ्न सकिँदैन ।’

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार संगठन सुदृढ गर्न जनतामाझ जानुपर्नेमा पदाधिकारीको मतैक्य छ । ‘सरकारबाट बाहिरिएपछि बलियो पार्टी बनाउनतिर लाग्नुको विकल्प छैन,’ उनले भने, ‘अब दायाँबायाँ नगरी पार्टी पुनर्निर्माणमा सम्पूर्ण ध्यान लगाउने कार्यक्रम बन्दै छ ।’ माओवादीभित्र मुख्य गरी संस्थापनसहित तीन गुट छन् ।

पूर्व एकता केन्द्रको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कार्यविभाजनमा दाहालसँग बिच्किएका उपमहासचिव जनार्दन शर्मालाई साथ दिएका अर्का उपमहासचिव वर्षमान पुन र गुटकै रूपमा संस्थापन पक्ष छन् । अध्यक्ष दाहालले पार्टीभित्र गुट अन्त्य गर्नेबारे पहल गरेनन् ।

एक पदाधिकारीको भनाइमा बरु गुटलाई आफ्नो अनुकूल प्रयोग गर्दै आए । स्थायी समिति बैठकमा भने दाहालले पार्टीभित्रका गुट अन्त्य गरी पार्टी निर्माणमा एकजुट हुनुपर्ने बताए । ‘अब पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता छ,’ उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार