इलाम (जस्बिरे) । इलाम नगरपालिका २ र ४ मा रहेको जस्बिरे कोठिडाँडा पर्यटकीय गन्तव्य भएपनि पूर्वाधार अभाव छ । ३० वर्ष अघि व्यवसायीक कृषि उपज उत्पादन शुरु भएको जस्बिरे क्षेत्र कालोपत्रे सडकले जोडिएपनि पर्यटन पूर्वाधार नहुँदा पर्यटकीय गतिविधि हुन सकेका छैनन् ।
इलाम नगरपालिका र सन्दकपूर गाउँपालीकाको सीमा क्षेत्र जस्बिरेको हरियालि चिया बगान र डाँडा पर्यटक आकर्षणका केन्द्र हुन् । विश्व बजारमा लोकप्रिय चिया उत्पादन हुने जस्बिरे कृषि खेतीका माध्यमबाट पर्यटक भित्र्याउने क्षेत्र पनि हो ।
सदरमुकाम इलाम बजारबाट ८ किलोमिटर पार गरेपछि पुगिने जस्बिरेमा सरकारी क्षेत्रबाट पछिल्ला दिनमा पर्यटन गतिविधि सुन्य छन् । समुदायले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनका काम गरेपनि सरकारी पक्षबाट पूर्वाधार निर्माणका काम गर्न सकेको छैन । यहाँ पुग्ने पर्यटकहरुले लोभलाग्दो ठाउँको परिचय दिएपनि पूवार्धार अभाव रहेको स्थानीय झमेस मुखियाले बताए ।
जस्बीरे गाउँमा २०४२ सालमा आलुसम्बन्धी परियोजना संचालन भएपछि व्यवसायीक कृषि उपजको खेती हुन थालेको थियो । अहिले जस्बिरेका डाँडाहरु हरियो चिया बगानले भरिएका छन् । आकर्षक चिया बगान र सुन्दर डाँडाहरु रहेको जस्बिरे क्षेत्र जोड्ने सडक कच्चि हुँदा खासै चर्चा थिएन । तर इलाम बजार माइपोखरी सडकको कालोपेत्रे सडकले जोडिएपनि पर्यटन पूर्वाधारको अभाव भएको हो ।
२०४२ सालमा जस्बिरे आएका कवि तथा पत्रकार भैरव रिसालले यहाँका किसानलाई चिया खेती रोपणबारे सिकाएका थिए । आकर्षक डाँडा रहेको जस्बिरे कोठिडाँडामा इलामको सदरमुकाम राख्न राणा शासनका बेला प्रस्ताव गरिएको समाजसेवी सुर्यबहादूर सुब्बाले बताए ।
जस्बिरेमा व्यवसायीक चिया खेतीका लागि चिया बिस्तार योजना पनि संचालनमा रहेको छ । जसले गर्दा कृषि उपज र खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ अहिले स्थानीय घरहरुमा होमस्टे संचालन गर्न सकिन्छ । विश्वको रामसार सुचिमा सुचिकृत माइपोखरी,पर्यटकीय क्षेत्र सन्दकपूरको यात्रा जस्बिरे हुँदै गरिन्छ ।