इलाम (सन्दकपुर) । सरकारको ठुलो लगाीनमा निर्माण भएको इलामको माईपोखरी सन्दकपुर जौबारी पदमार्गको नाम रेडपाण्डा पदमार्ग घोषणा गरिएको छ । रेडपाण्डाको बासस्थान र रेडपाण्डा अध्ययनमा अवलोकनमा विश्वभरका पर्यटक आउन थालेपछि पदमार्गको नाम रेडपाण्डा राखिएको हो । विश्व रामसार क्षेत्रमा सुचिकृत सन्दकपुर १ को माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारी रेडपाण्डा पदमार्गले जोड्छ । यो पदमार्ग माईपोखरीबाट पर्यटकीय क्षेत्र कैयाकट्टासम्म संघीय सरकारले निर्माण गरेको हो । कैयाकट्टाबाट जौबारीसम्मको क्षेत्र कोशी प्रदेश सरकारले निर्माण गरेको थियो ।
त्रिधार्मिक रामसार क्षेत्र माईपोखरीबाट पदयात्रा गर्दा ४ दिनमा सन्दकपुर ५ को जौबारी पुगिन्छ । रेडपाण्डाको बासस्थान रहेको र रेडपाण्डा पर्यटन प्रवद्र्धन हुँदै आएको क्षेत्र भएकाले सन्दकपुर गाउँपालिकाले रेडपाण्डा पदमार्ग नामाकरण गरेको हो । २१ सय २१ मिटरको उचाईमा अवस्थित माईपोखरीबाट शुरु हुने पदमार्ग ३६३६ मिटरमा रहेको इलामको शीर सन्दकपुर हुँदै २९ सय २९ मिटरको जौबारी पुगेर टुङ्गीन्छ । चराचुरुङ्गी, रेडपाण्डा सहितका वन्तजन्तु, विश्वका ६० बढी हीमचुचुरा र प्राकृतिक सुन्दरतामा रम्न सकिने पदमार्ग पर्यटकको आकर्षक मार्ग हुने पर्यटन व्यवसायी मनोज बस्नेतले बताए ।
यहाँ रेडपाण्डाको संरक्षण र रेडपाण्डाका माध्यमबाट पर्यटन प्रवद्र्धनका काम सन्दकपुर गाउँपालिकाले गर्दै आएको छ । माईपोखरीबाट जौबारीसम्मको पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, सन्दकपुर गाउँपालिका, केचना कंचनजंघा पर्यटन विकास समतिले प्रथम रेडपाण्डा महोत्सव आयोजना पनि गरेका छन् । पदयात्राका क्रममा रेडपाण्डाको अध्ययन र अवलोकन गर्न सकिन्छ । पदमार्ग पर्यटकका लागि खुल्ला गर्न सन्दकपुर गाउँपालिकाले प्याकेज बनाउने काम गरिरहेको छ ।
सरकारको ठुलो लगानी भएको पदमार्गलाई चलायमान बनाउनका लागि प्रवद्र्धनका काम हुँदै आएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । रेडपाण्डा पदमार्गले १३ वटा पर्यटकीय गन्तव्यहरु जोड्छ । यी पर्यटकीय गन्तव्यमा नेपाल र भारतबाट वर्षमा हजारौँ पर्यटक पुग्दै आएका छन् । माईपोखरी, ,छिन्टापु, सन्दकपुर, कालपोखरी, कैयाकट्टा, जौबारी पदमार्ग भित्रका मुख्य पर्यटकीयस्थल हुन् ।













