विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेस–एमालेबीचको नयाँ समीकरणले प्रदेश संरचना बलियो हुने दाबी गरेका छन्। उद्योग कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कांग्रेस र एमालेबीचको पछिल्लो राजनीतिक समीकरणले राजनीतिक स्थायित्व कायम हुने र प्रदेश संरचना पनि बलियो हुने धारणा राखे।
कार्कीले राजनीतिक अस्थिरताले विकास निर्माण, कानुन निर्माण र संघीयता सुदृढीकरणलाई पनि प्रभावित पारिरहेको बताए। ‘राजनीतिक अस्थिरताले संघीयता सुदृढीकरणलाई पनि प्रभावित पारेको छ। र अब, पछिल्लो राजनीतिक समीकरणले राजनीतिक स्थिरतासँगै प्रदेश संरचनालाई पनि बलियो बनाउने छ।’ कार्कीले प्रदेश सरकारलाई जनताको आँगनको सरकारका रुपमा स्थापित गरेरै छाड्ने दाबी पनि गरे।
राजनीतिक समीकरण बदलिरहने र सरकार परिवर्तन भइरहने अवस्था अन्त्य भइसकेका कारण उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरूलाई मुख्यमन्त्री कार्कीले निर्देशन पनि दिए। कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ मा गरेका कामहरूबारे जानकारी पनि गराएको थियो। कार्यक्रममा कोशी प्रदेशमा नयाँ उद्योग स्थापना घट्दो क्रममा रहेको देखिएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ३ सय ४२ नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएका छन्। अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा कोशी प्रदेशमा ५ हजार ३ सय वटा नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।
कोशी प्रदेश सरकार स्थापना भएयता ०७७/०७८ मा सबै भन्दा बढी १४ हजार वटा उद्योग दर्ता भएको मन्त्रालयका कम्प्युटर अधिकृत चुणामणी न्यौपानेले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशमा अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षहरूमा उद्योग दर्ता गर्ने क्रम घटेको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दो क्रममा रहेकोले नयाँ उद्योग सञ्चालनमा कमी आएको हुनसक्ने उनले बताए। दुई दिनसम्म चल्ने वार्षिक समीक्षा गोष्ठीमा कोशी प्रदेश सरकार मातहतका ४६ वटा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।