फिक्कल । केन्द्रीय सरकारले विद्यालय तहको शिक्षाको जिम्मा स्थानीय तहलाई सुम्पिइसक्यो। स्थानीय तहहरूले पनि सोही अनुसार कक्षा १२ सम्मका विद्यालयहरूको बेलाबेलामा अनुगमन र निरीक्षणका साथै आवश्यक निर्देशन पनि दिइरहेको देखिन्छ ।
स्थानीय तहमा अधिकार आएसँगै विद्यालयमा लगानी र स्थानीय सरकारको चासो दुवै बढ्नुपर्ने हो । लगानी बढेसँगै विद्यालय र विद्यार्थीको नतिजामा सुधार आउनुपर्ने हो । तर, हालै सार्वजनिक भएको २०८० सालको एसईई परीक्षाको नतिजाले त्यस्तो देखाउँदैन । २०८० सालको एसईईमा देशभरबाट आधाभन्दा कम विद्यार्थी मात्र सफल भए । उनीहरू ‘ग्रेडेड’ हुँदा बाँकी ५१.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए।
उनीहरू अहिले पुरक परीक्षाको तयारी गरिरहेका छन् । ग्रेडवृद्धि परिक्षा साउन २३ गतेबाट हुँदैछ । एसईईको नतिजा पल्टाउँदा सबैभन्दा दयनीय अवस्था सामुदायिक विद्यालयको देखिन्छ । देशभरका निजी विद्यालयले एसईईमा राम्रो नतिजा ल्याउँदा सामुदायिक विद्यालयको नतिजा भने सन्तोषजनक देखिएन् । केही विद्यार्थीहरु व्यक्तिगत प्रयासका आधारमा उत्कृष्ट देखि । तर अधिकांश विद्यालयको नतिजा लगानी अनुसार हुन सकेको देखिएन् ।
देशरभर उर्तिण प्रतिशत समेत भेट्न सकेन
कोशी प्रदेशकै उत्कृष्ट भनेर पुरस्कृत भएको सूर्योदय नगरपालिकाले जिल्लामा शिक्षामा सबैभन्दा बढि बजेट छुट्याएको दाबी गर्दै आएको छ । तर एसईईको नतिजा भने सूर्योदयमा परिणाममुखी देखिएन् । देशभरमा कुल ४८.१६ प्रतिशत उर्तिण भए । तर सूर्योदय नगरपालिकाले देशभरको उर्तिण प्रतिशत समेत भेट्न सकेन् । सूर्योदयबाट केबल ३६.१३ प्रतिशत मात्र उर्तिण भए । नगरबाट सहभागी ५५९ मध्ये २०२ विद्यार्थी मात्र उर्तिण भए ।
देशभरका सामुदायिक विद्यालयका प्रिन्सिपलहरुको छाता संगठन प्रिन्सिपल एशोसिएसन अफ नेपालले गत जेठको अन्तिम साता कोशी प्रदेशकै शिक्षाको उत्कृष्ट पालिकाको रुपमा सम्मान गरेको थियो । सम्मानित भएको २० दिन नवित्दै नगरको शिक्षाको स्थिती देखिएको छ । उत्कृष्ट पालिकाको रुपमा पुरस्स्कृत हुने मापदण्ड मध्ये शिक्षाको गुणस्तर र नतिजा समेत समावेश थियो ।
शिक्षामा उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत पालिकाले जिल्लाको उत्कृष्ट जिपिए ल्याउने शिर्ष १० मा जनक माविका अनुराग घिमिरे मात्र समावेश थिए । प्राविधिक धारमा करफोक विद्या मन्दिरका गगन दाहाल शिर्ष ९ मा थिए । नगर शिक्षा प्रमुख योगनिधि भट्टराई लगानी अनुसार नतिजा नआएको तथ्यलाई स्विकार्छन् ।
‘ सम्मान गर्ने संस्थाले मुल्यांकन कसरी गर्यो भन्ने कुरा हो । एसईई नतिजालाई बनाएको हो हैन् भन्ने पनि छ । ५/६ बर्ष देखि पालिकाले लगानी गरिरहेको छ । हरेक विद्यालयमा आइसिटी छ इन्टरनेट जडान गरिएको छ पाठ्यक्रमको तालिम चलाएको छ अनुगमन गरेको छ । कार्यसम्पादन करार गरेको मुल्यांकन अभिभावक परिचयपत्र अभिभावक अभिमुखीकरण जस्ता रचनात्मक कार्यक्रम गरिएको छ । ’ उनले भने
‘आन्तरिक बजेटको ५० प्रतिशत बढि लगानी शिक्षामा गरिएको छ । स्थानीय सरकार आएपछि गरेको लगानीको प्रतिफल देखिन बाँकी छ । तर हालसम्म भएको लगानीले रिजल्ट राम्रो देखिनुपथ्यो तर लगानी अनुसार नभएको हो ।’ भट्टराईले भने जस्तै विगतका ६ बर्षको लगानीले शिक्षामा प्रतिफल देखिनुपर्ने थियो तर सोही अनुसार हुन् सकेन ।
स्थानीय सरकार गठन भएको बर्ष २०८० को एसईई परिक्षा लेख्ने विद्यार्थी कक्षा ४ मा अध्ययनरत थिए । ६ बर्षसम्म उनीहरुको नतिजा परिणाममुलक भएन् भने कहिले हुने ? भन्ने पनि प्रश्न छ । जिल्लाको १० पालिका मध्ये सूर्योदय तेश्रो स्थानमा छ । देशभरको कुल उर्तिण प्रतिशत भन्दा बढि इलाम नगरपालिका र चुलाचुलीले मात्र पुरा गरेका छन् ।
इलामबाट ७७४ मध्ये ४३२ (५५.८१ प्रतिशत) उर्तिण हुँदा चुलाचुली गाउँपालिकाबाट २८३ मध्ये १५५ (५४.७७ प्रतिशत उर्तिण भए । देउमाई नगरपालिकाबाट सहभागि ३८१ मध्ये ९२ जना (२४.१८ प्रतिशत), रोङ गाउँपालिकाबाट १३९ मध्ये २८ जना (२०.१४ प्रतिशत), माई नगरपालिकाबाट ३९८ मध्ये ७५ जना (१८.८४), सन्दकपुर गाउँपालिकाबाट १६४ मध्ये २० जना (१२.१९ प्रतिशत), माङसेबुङ गाउँपालिकाबाट २२० जना मध्ये २४ जना (१०.९ प्रतिशत ) उर्तिण भएका थिए ।
माईजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकाले दोहोरा अंक प्रतिशतमा उर्तिण गराउन सकेनन् । माईजोगमाईबाट २६६ सहभागि भएकोमा २६ जना ( ९.७७ प्रतिशत) र फाकफोकथुमबाट २५३ जना सहभागि भएकोमा २० जना ( ७.९ प्रतिशत ) मात्र उर्तिण भए ।