Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

एलपी जाेशीले अब बजाउने छैनन् ` रिटिङ रिटिङ बिनायाे´

एलपी जाेशीले अब बजाउने छैनन् ` रिटिङ रिटिङ बिनायाे´

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १२ २०८१


एलपी जाेशीले अब बजाउने छैनन् ` रिटिङ रिटिङ बिनायाे´

इलाम। रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मनले छिनायो सान्नानी
ऐयाया आक्काका…..
६ दशकअघि संकलित ​यो गीत नसुन्ने नेपाली संगीतप्रेमी कमै होलान्। त्यति मात्रै होइन,
‘वल्लो खोलो पल्लो खोलो।
कमिलाको गोलो भनेर
हो राना ज्यू, कमिलाको गोलो भनेर।
च्याट्टै पारी सिइदेउ दर्जी
च्याट्टै पारि सिइदेउ दर्जी
कान्छी ल्याउने चोलो भनेर हौ रानाज्यू कान्छी ल्याउने चोलो भनेर।’
यी दुई चर्चित गीतका संकलकरगायक एलपी जोशीको प्रत्यक्ष आवाज अब नेपालीहरूले सुन्न पाउने छैनन्। बिहीबार साँझ ८८ वर्षको उमेरमा जोशीको निधन भएको छ। स्वास्थ्यमा अचानक गडबडी आएपछि उपचारका लागि दमक अस्पताल पुर्‍याइएको थियो। त्यहीँ उनको निधन भयो।
वास्तविक नाम लक्ष्मीप्रसाद जोशी भएपनि उनी एलपीकै नामबाट नेपाली संगीतमा बाँचिरहे। १९९३ सालमा धनकुटा-६ बिचबजारमा उनको जन्म भएको थियो। बुबा कृष्णमानसिंह जोशी भजन गायक भएकाले एलपीले समेत बाबुको पथ पछ्याएर संगीत क्षेत्रमा लागे। हिन्दी भजन गाएर सांगीतिक यात्रा शुरु गरेका जोशीलाई लागेको थिएन, यति चर्चामा आउँछु भनेर।
जोशीले २०१८ सालमा रेडियो नेपालमा ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेको थियो। २०११ सालदेखि थापासँग नजिकिएका उनी गाउँ बस्तीका मौलिक गीतको खोजीमा जुट्दै हिँडे। त्यसै मेसोमा रिटिङ रिटिङ।।।बोलको गीत संकलन गरे। २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकाले, उनलाई लोचन भट्टराईले साथ दिइन्।
उनले रेडियो नेपालमा रेकर्ड गराएको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ पहिलो भने थिएन। २०१३ सालमै रेडियो नेपालमा ‘नेपाली माया नेपालै कस्तो छ, सरमा सर अक्षर लेख्ने नेपाली माया नेपाली कागजैमा।।।’ रेकर्ड गराएका थिए। तर मौलिक बाजा बिनायोले नै उनलाई चर्चामा ल्यायो ।
नेपाली लोकसंस्कृतिलाई टपक्कै आफ्नो भाकामा टिप्न सिपालु गायक जोशीका ४०(४५ वटा गीत सबैजसो नै चर्चित बने। परिणामतः उनले २०५९ सालमा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको उपाधि पाए। जहाँ पुगे पनि जोशी गीत गाउने इच्छा व्यक्त गरिहाल्ने। धनकुटामा जन्मिएका जोशीको मावली घर धरान।
मावली पुग्दा उनले त्यसबेला चर्चामा रहेको शेर्पा भाषाको गीत समेत छाडेनन्। अर्थै नबुझे पनि उनले ‘सोयाला’ बोलको गीत गाए।
२०२५ सालमा धनकुटाबाट झापाको दमक झरेका जोशी काठमाडौं जाने सोचसहित घरबाट हिँडेका थिए । तर, दमकमै रोकिए । हक्की स्वभावका जोशी २०१३ सालमा इलामको जेलमा ४ महिना नजरबन्द पनि परे। इलाम हाइस्कूलका प्रधानाध्यापक डीबी गौतमलाई विनाकारण गरिएको गिरफ्तारीविरुद्ध लड्दा उनी जेल पुगेका थिए।
२००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर प्रतिभालाई थप तिखारे। यसैकारण उनका घरका केही कोठा सम्मान र पुरस्कारले नै भरिएका थिए। २०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौँ सम्मान पाए।
लोकसंगीतकै क्षेत्रमा योगदान पुर्‍याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ट लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन, २०७७ सालमा स्वर सम्राट नारायण गोपालको ३० औ स्मृति दिवस जस्ता ख्याति प्राप्त संघसंस्थाबाट सम्मान र अभिनन्दन पाए। श्रीमती विन्दासँगको प्रेममा पर्दा २०२५ साल चैत ४ गते हर्षका आँसु झारेका जोशीले २०६८ साल कात्तिक १८ गते शोकको आँसु झारेका थिए। हरेक वर्षका कात्तिक १८ ले उनलाई झस्काइरहन्थ्यो।
श्रीमतीसँग भाइटीकाको बेला भएको संवादले त उनलाई झनै नरमाइलो बनाउँथ्यो। दाजुभाइ टिका लगाएर उग्रिएका दुईटा माला ४ दिनसम्म पनि नओलाएको देखाएपछि उनले श्रीमतीलाई भनेका थिए ‘राख न त भगवानलाई पनि काम लाग्छ। नभए आफैँलाई पनि काम लाग्छ।’ नभन्दै त्यही माला लगाएर श्रीमतीलाई अन्तिम बिदाइ गरेको उनले सुनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार