Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

गुफापतालमा पर्यटन पूवार्धार निर्माण (तस्बिरहरु)

गुफापतालमा पर्यटन पूवार्धार निर्माण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, असार २३ २०८१


गुफापतालमा पर्यटन पूवार्धार निर्माण (तस्बिरहरु)

सूर्योदय (गुफापताल) । इलामको पर्यटकीय क्षेत्र गुफापतालमा केचना कंचनजंघा पर्यटन विकास समितिबाट पर्यटन पूर्वाधार निर्माण गरिएको छ । कोशी प्रदेशका इलाम पाँचथर, ताप्लेजुङ्ग र झापा जिल्लामा पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणको काम गर्दै आएको केचना कंचनजंघा पर्यटन विकास समितिले गर्दै आएको छ । समिति मार्फत गुफापतालमा नेपाल चिनाउने उदेश्यले पूर्वाधार निर्माण गरिएको हो । नेपाल भारत सीमा क्षेत्रमा पर्ने गुफापतालमा भारत भएर सिजनमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।
समुदाय र तत्कालिन मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्ध विकास समितिबाट पूर्वाधार निर्माणको काम हुँदै आएको गुफापतालमा केचना कंचनजघा पर्यटन विकास समितिले पर्यटककालाई आकर्षण गर्ने पूर्वाधार निर्माण गरिएको कार्यकारी निर्देशक केसवकुमार द्यौरालीले बताए । नेपाल भारत सीमा क्षेत्रको नेपाली भु–भागमा रहेको पर्यटकीयस्थलमा आउने भारतीय पर्यटकहरुलाई आकर्षण गर्न र नेपाल चिनाउन आइ लभ नेपाल लेखिएको संरचना बनाइएको हो ।

सूर्योदय नगरपालिका ४ मा पर्ने पर्यटकीय क्षेत्र गुफापतालमा स्थानीय सुमदायले पर्यटन समिति निर्माण गरि प्रवद्र्धनको काम गर्दै आएका छन् । पर्यटकीय क्षेत्रको केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिना, सल्लाहाकार प्रकाश अधिकारी, कार्यकारी निर्देशक केशवकुमार द्यौराली, नेपाल पत्ररका महासंघ इलामका शाखा सचिव भिम चापागाई लगायतको टोलीले पूर्वाधार निर्माणको अनुगमन गरिएको थियो ।

यस्तो छ गुफापतालको महत्व

१० वर्ष अघि इलामको सूर्योदय नगरपालिका ४ स्थित गुफापताल क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा थिएन । नेपाल भारत सीमा क्षेत्रमा रहेको गुफापताल क्षेत्र अहिले भातरीय पर्यटकहरुको गन्तव्य बनेको छ । गुफापताल इलामको सूर्योदय नगरपालिका ४ मा अवस्थित छ । नेपाल भारतका भु–भागको दृश्य ३ सय ६० डिग्रिमा गुफापतालबाट देखिन्छ । गुफापताल भारतीय पर्यटकको गन्तव्यको क्षेत्र भएको हो । भारतको दार्जिलिङ भ्रमण गर्ने पर्यटकहरुको बास अहिले गुफापताल हुने गरको छ । गुफापतालबाट हिमाली दृश्य, भारतीय पर्यटकीय सहर, नेपाल भारतका ग्रामीण भु–भाग हेर्न पाउँदा आनन्द भएको भारतीय पर्यटक देव जनीले बताउनुभयो ।

समुदायको सक्रियतामा १० वर्ष अघि शुरु गरेको पर्यटन प्रवद्र्धनको अभियानले अहिले सफलता पाएको हो । समुदायको सक्रियतालाई तत्कालिन मेचि पर्यटन प्रवद्र्धन विकास समितिले पूर्वाधार निर्माण गरि सहयोग गरेको थियो ।

भ्यु पोइन्टका रुपमा विकास भएको गुफापतालबाट हिमश्रङ्खला, सूर्योदय, सूर्यास्त, नेपाल भारतका भु–भागको दृश्यमा पर्यटक रमाउने गरेको पर्यटन समितिका हर्कधन तामाङले बताए ।  गुफापतालमा नेपाली पर्यटकहरु पनि पुग्ने क्रम बढेको छ । भारतीय पर्यटकहरुको आकर्षण बढेपछि यहाँ होमस्टे पनि संचालन भएका छन् । यहाँ भारतीय पर्यटन व्यवसायीले पनि जग्गा भाडामा लिएर होमस्टे संचालन गरेका हुन् । गुफापतालमा अशोजदेखि बैशाखसम्म पर्यटक पुग्ने गरेका हुन् ।

सुमुन्द्र सतहबाट २ हजार मिटरमा अवस्थित गुफापताल भारतीय फिल्मकर्मीको सुटिङ क्षेत्र हो । यहाँबाट कंचनजंघा, कुम्भकर्ण हिमालको दृश्य यहाँबाट मज्जाले हेर्न सकिन्छ । अहिले दैनिक सय जना बढी पर्यटकहरु यहाँ पुग्ने गरेको स्थानीय सरु राईले बताइन् ।

समुदायले गुफापताललाई पर्यटकीय गन्तव्य बनाउन ७ रोपनी जग्गा खरिद गरि गेष्ट हाउस, शौचालय र भ्यु टावर निर्माण गरेका थिए । हरियाली चिया बगानले भरिएको इलाम भित्रको गुफापतालबाट जता फर्केपछि प्राकृतिक सुन्दरमा रमाउन सकिने हो । नेपाल भारत सिमा क्षेत्रमा रहेको अग्लो डाँडो गुफापतालबाट पहाड, पर्वत, हिमाल, सूर्योदय र देशविदेशका सहर दृश्यावलोकन मज्जाले गर्न पाइन्छ ।

आधुनिक नेपालको सीमा छुट्टाउने मेची नदी मुहानको सिरमै अवस्थित गुफापतालबाट बिहानीको सुर्योदय र सुर्यास्तको दृश्यले हामी आनन्दित हुन्छ । गुफापतालबाट कुम्भकर्ण, कंचनजंङ्घा हिमश्रङ्खलाको दृश्य आँखै अगाडी देखिन्छ । प्राकृतिक चुचुराहरुमा कोणधारी धुपि र हरियो चियाका बोटहरुबाट पर्यटकको मन फुरुङ्ग बनाउँछ । भारतका पर्यटकीय स्थलसँगै दार्जिलिङ्ग, कस्र्याङ, सिक्किमको दृश्यले आँखै अगाडि देखिँदा देशविदेशका पर्यटकको मन तान्न गुफापताल सफल देखिन्छ ।

इलामको सदरमुकाम पर्यटकीय क्षेत्र फिक्कल, पशुपतिनगर, कन्याम र तराई क्षेत्रको प्रष्टसँग गुफापतालबाट नियाल्न सकिन्छ । नेपाल र भारत छुट्याउन कोरिएको सीमा रेखामा पर्ने पर्यटकीयस्थल सन्दकपुर, छिन्टापु, सीमाना बजारका दृश्यले यहाँ पुग्ने जोकीलाई आनन्दित तुल्याउँछ । सुगौली सन्धि अघिको नागरिक गडि, टिस्टा नदि, दार्जिलिङका थुम्कामा गरिएको चिया खेति मात्रै हैन बंगालादेशसम्मको दृश्य एउटै डाँडाबाट देख्न सकिने भएपछि पर्यटकहरु आनन्दित हुने गरेका छन् ।

हजारौँ पर्यटनको मन तान्न सफल गुफापतालको ऐतिहासिक पक्ष रोचक छ । परापूर्वकालदेखि प्राचिन शासक लेप्चाहरुले ज्ञान प्राप्तिका लागि गुफामा तपस्या गर्ने भएकाले गुफापताल नाम राखिएको हो । प्रथम विश्वयुद्धबाट फर्किएका नेपालीलाई व्यवस्थापनका लागि जंगल फाँडेर बस्ति विस्तार गरिएको क्षेत्र हो गुफापताल । बनभोजका लागि प्रख्यात गुफापताल नेपाल, भारत र भुटानका चलचित्र निर्माताको एक उत्कृष्ट छायाङ्कन स्थल हो ।

गुफापताल पुग्नका लागि सूर्योदय नगरपालिका २ स्थित पशुतिनगरबाट ७ किलोमिटर कच्चि सडकको यात्रा गर्नुपर्ने हुन्छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरको फाटकबाट भारतीय सडक प्रयोग गरेर गुफापताल पुग्न सकिन्छ । गुफापताल पुग्ने अर्को बाटो सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल छिरुवा हुँदै छब्बिसेबाट पनि पुगिन्छ । भारतीय चलचित्रकर्मीले गुफापताल क्षेत्र धतिको स्वर्गको उपमा दिएका छन् ।

लोपउन्मुख काँडे भ्याकुर, सुनगोहोरो, अनेकौँ प्रजातीका चारचुरुङ्गि, पुतलि, जडिबुटी र हरेक घरमा लहलह फुलेका फुलले यहाँको सौन्दर्यता झनै थपेको छ । नेपाल भारती सीमा क्षेत्र छुट्टयाउने मेची नदीको मुहानमा पाइने अनेक प्रजातिका पुतली, आवाजसँगै उड्ने चराचुरुङ्गीले देश विदेशका पर्यटकको मन लोभ्याएको छ । गुफापतालमा पर्यटकहरु पुग्ने सिजन कात्तिक, मंसिर, पुष, फागुन, चैत्र, र बैशाख महिना हो । देशविदेशका पर्यटकहरुको ध्यान तान्न सफल गुफापताल क्षेत्रको विकासका लागि अहिले स्थानीय अहिले सफल भएका छन् ।

समुदायले पर्यटक क्षेत्रको विकास गर्न सात रोपनी जग्गा खरिद गरि तीन कोठाको गेष्ट हाउस र शौचालय निर्माण गरेका थिए । पर्यटन पूर्वाधारका लागि तत्कालित मेचि पहाडी पर्यटन क्षेत्र विकास समितिले भ्यु टावर निर्माण गरिदिएको थियो । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम गरिएपछि गुफापतालको विकासका लागि निजी क्षेत्र आकर्षित भएका छन् । अहिले भारतीय पर्यटन व्यवसायीहरुले होमस्टे संचालनमा लगानी गरि भारतको उडिसा, मुम्बई, कलकत्ता, केरला लगायतका राज्यबाट दार्जिलिङ् घुम्म आउने पर्यटकको गुफापतालमा बास बसाएर नेपालका पर्यटकीयस्थलहरुको भ्रमण गराउँदै आएका छन् ।

गुफापताल क्षेत्रमा रहेका मठमन्दिर, सीवालयले धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पुगेको देखिन्छ । पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन वृद्धिसँगै गाउँका आकर्षक र कलात्मक घरमा होम स्टेको विकास हुदैँ आएको छ । गुफापताल आएर रात बिताउन चाहाने पर्यटकका लागि स्थानीयका १० घरमा होमस्टेको विकास गरिएको छ । होमस्टेमा स्थानीतस्तरमै उत्पादन हुने खाध्यबालीबाट बनाएका परिकारको स्वादमा रमाउन पाइन्छ । गुफापताल पुग्न मेचीराजमार्गको फिक्कलबाट छिरुवा, मेचीबजार, छब्बिसेसम्मको यात्रा गर्नुपर्छ । गुफापताल फिक्किल बरबोटे कट्टेबुङ लालिखर्कहुँदै पुग्न सकिन्छ । सीमावर्ती पशुपतिनगरबाट भारतीय नम्बर प्लेटको सवारीसाधन रिर्जव गरि पनि सहजै गुफापताल पुग्न सकिने गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार