राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक समस्या नदेखिएमा नतिजा प्रकाशन हुने जनाएको छ। बोर्डका अनुसार डेमोमा सफल भएमा आज दिउँसो नतिजा सार्वजनिक हुने छ। केही समस्या देखिएमा भोलि (बिहिबार) नतिजा प्रकाशन गर्ने बोर्डको योजना छ।
यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गरिने बोर्डले जनाएको छ। गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।
यसरी हेर्न सकिनेछ एसइईको नतिजा
बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि आज सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ। आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ।
एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।
