इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नगरले आज ९बिहीबार० नवौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै सो बजेट पारित गरेको हो । सभाले आउँदो आवका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख पविमाया राईले प्रस्तुत गरेको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने इलामका १० स्थानीय तहमध्ये देउमाई नगरपालिका पहिलो बनेको छ ।
विनियोजित बजेटमध्ये पूर्वाधार विकासमा रु १७ करोड छ लाख ५७ हजार, सामाजिक विकासमा रु ३८ करोड ६४ लाख ७७ हजार, आर्थिक विकासमा चार करोड ४४ लाख ८२ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा रु दुई करोड ८९ लाख ४५ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्चमा रु १२ करोड ५७ लाख १९ हजार विनियोजन गरेको छ ।
चालु आव २०८०/०८१ मा रु १२ करोड ५० लाख ५९ हजार अनुमान गरिएकोमा अनुमानित राजश्व सङ्कलन नभएपछि १० करोड ७४ लाख ७६ हजार नौ सय मात्र कायम हुने बजेट बक्तव्यमा जनाइएको छ । चालु आवको प्रगतिमा ७४ प्रतिशत मात्र प्रगति भएको उल्लेख गरिएको ।
अनुमानित आयतर्फ आन्तरिक राजश्वबाट रु छ करोड ९३ लाख ७४ हजार, संघीय सरकार तथा कोशी प्रदेशबाट प्राप्त हुने शशर्त अनुदान रु ३० करोड ९२ लाख २१ हजार, वित्तिय समानीकरण अनुदान रु १२ करोड ४१ लाख १४ हजार, राजश्व बाँडफाँड वापद प्राप्त हुने राजश्व रु १२ करोड १४ लाख ४४ हजार, समपुरक अनुदान रु एक करोड ३० लाख र विशेष अनुदान रु ५० लाख र संचित कोषमा मौज्दात हुने अनुमानित रु ११ करोड ४१ लाख २७ हजार उल्लेख छ ।
नगरप्रमुख पोख्रेलले ज्येष्ठ नागरिक पोसाक भत्ता, एकल पुरूष भत्ता, तेस्रो लिङ्गी नागरिक भत्ता, ४५ वर्ष माथिका अविवाहित महिलालाई भत्ता, पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता तथा मृत्यु दाहसंस्कार सहयोग र मातृशिशु पोषण कार्यक्रमलाई निरन्तरता दिएको बताए । दीर्घरोगी उपचार यातायात सहयोग कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।
त्यस्तै, कृषक र कृषि उत्पादनको प्रवर्धनको निम्ति कृषकसँग साझेदारीमा कृषिको व्यवसायीकरण, विविधिकरण र बजारीकरण गर्न प्लाष्टिक टनेल, काउम्याट वितरण, कृषि औजार वितरण, हाते ट्याक्टर र च्यापकटर वितरण, घाँस, तरकारी तथा फलफुलका विउ विजन वितरण, स्थानीय स्तरमै विउ विजन उत्पादनको लागि साझेदारिमा नर्सरी स्थापनाको कार्यक्रम, पशुको नस्ल सुधारको लागि आवस्यक बजेट विनियोजन गरेको नगरप्रमुख पोख्रलेलले बताए । देउमाई नगरपालिकामा नौ वटा वडा रहेका छन् ।