Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

जीबी राईको लोकेसन मलेसियाका गृहमन्त्रीले कन्फर्म गर्नु भएको छ : गृहमन्त्री लामिछाने

जीबी राईको लोकेसन मलेसियाका गृहमन्त्रीले कन्फर्म गर्नु भएको छ : गृहमन्त्री लामिछाने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार ७ २०८१


जीबी राईको लोकेसन मलेसियाका गृहमन्त्रीले कन्फर्म गर्नु भएको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन् । आफूले मलेसियाका गृहमन्त्रीसँग कुरा जीबी राईका बारे कुराकानी गरिसकेको पनि गृहमन्त्री लामिछानेले बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरूसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसनसमेत पत्ता लागेको जानकारी दिएका हुन् ।

उनले भने ‘यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ । योबीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ । ३/४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर नजिक छौँ । हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौँ ।’ जीबी राई कहाँ छन् भन्ने थाहा छ त ? भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ‘मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन ।’

पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि जीबी राई फरार छन् । फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन् । राईसहित १४ जना अझै फरार छन् ।

राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । त्यसमध्ये सूर्यदर्शनको हिनामिनासम्बन्धी कसुर मात्रै अनुसन्धान भएर राईसहित प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राई संलग्न अन्य सहकारीको हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार