विराटनगर । काठमाडौंबाट सिक्किमको पाक्योङसम्मको हवाई सेवा संचालनका लागि बुद्ध एयरको एक टोलीले प्रारम्भिक अध्ययन सुरु गरेको छ । बुद्ध एयरको टोलीले काठमाडौं र पाक्योङबीचको हवाई उडान सञ्चालनको सम्भाव्यता मूल्यांकनका लागि सोमवार पाक्योङ विमानस्थलको भ्रमण गरे । टोलीले पाक्योङ विमानस्थलका अधिकारीसंग अन्तर्क्रिया पनि गरेका थिए ।
बुद्ध एयरका प्रतिनिधिहरु उदयकृष्ण श्रेष्ठ, ओम प्रधानाङ्ग र जीवन बस्नेत अध्ययन भ्रमणमा छन् । काठमाडौ–सिक्किमको भौगोलिक दुरी करिव ६ सय ६८ किलो मिटर हो । काठमाडौ–सिक्किम हवाई उडान गर्न सक्दा सिक्किम, दार्जिलिङसहित पश्चिम वंगालका पर्यटकहरुलाई नेपाल भित्र्याउन सकिने प्रबल सम्भावना रहेको बुद्ध एयरका प्रतिनिधि ओम प्रधानाङ्गले बताए ।
उनले हवाई सेवाले सिक्किम र नेपालबीच पर्यटन आदान प्रदान हुन सक्ने सम्भावना रहेको बताए । उनले भने,‘सिक्किमसहित दार्जिलिङ, पश्चिम बंगालका पर्यटकहरु नेपाल आउने र नेपालबाट सिक्किम जान सहज हुने छ’, प्रधानाङ्गले भने ।
पाक्योङ विमानस्थल गत २५ अक्टोवर २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । सिक्किमको प्रान्तिय राजधानी गान्तोकवाट ३१ किलोमिटर दक्षिणमा रहेको विमानस्थल समुद्री सतहबाट ४ हजार ६ सय ४६ फिटको उचाईमा छ । भारतका पाँच उच्च हिमाली क्षेत्रका विमानस्थलमध्ये यो पनि एक हो ।