इलाम । दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने भएका छन् । माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख २५ गतेबाट हुने प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । ९ साइडमा संचालन हुने प्रतियोगितामा सहभागी टिमले आफ्नो पालिका भित्रका खेलाडीहरु मात्र समावेश गर्न पाउने आयोजक समितिका सचिव महेश सापकोटाले जानकारी दिए । उनले सहभागी टिमले पालिका भन्दा बाहिरका खेलाडीहरु टिममा समावेश भएको पुष्टि भएका स्वत टिम खारेज हुने बताए ।
प्रतियोगिता अघि परिषदले पालिका स्तरिय टिम छनौटका लागि बैशाख १९ देखि २१ गतेसम्म वडा स्तरिय प्रतियोगिता संचालन गरेको थियो । वडा कपमा वडा नं १ ले ३ लाई हराउँदै उपाधि जितेको थियो । परिषदले गत बर्षबाट पालिका स्तरिय प्रतियोगिता संचालन गरेको हो । पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो ।
