इलाम । नेपाली राजनीतिमा कुनै समय पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई हेभिवेट नेताको रुपमा चित्रित गरिदै आएको थियो । नेपालको ३५ औ प्रधानमन्त्रीको रुपमा २०४ दिन सत्ताको बागडोर सम्हालेका झलनाथ खनालले बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टी नेकपा एकिकृत समाजवादीको अस्तित्व जोगाउन सकेनन् । खनालको गृह वडा रहेको इलाम नगरपालिका–१ साखेजुङमा उनको दलले केवल ८ मत मात्र प्राप्त गरेको छ ।
५१ हजार ४०४ मतको परिणाम आइसक्दा खनालको पार्टी नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार बनेका जीत बहादुर राईले ३७१ मत मात्र प्राप्त गरेका छन् । राईले प्राप्त गरेको मत परिणामलाई हेर्दा २०७९ को प्रतिनिधिस एवम प्रदेशसभामा पाएको मत जोगाउनै सकस देखिएको छ ।
२०७९ मा नेपाली कांग्रेसलाई सघाएको नेकपा एसले समानुपातिक तर्फ ५८६ मत पाएको थियो । तर यस पटक उम्मेदवार रहँदा पाएको मतले अघिल्लो मत जोगाउनै सकस देखिएको छ । खनाललाई उपनिर्वाचनमा नेकपा एसले चुनावी कमाण्डर तोकेको थियो । निर्वाचनको मनोयन अघि खनालले चुनाव जित्ने दावी गरेका थिए ।
अघिल्लो निर्वाचनमा समानुपातिकमा पाएको मत तथ्यांक नभएर मिथ्यांक भनेर दावी गरेका खनालको पार्टीले हालसम्म पाएको मत परिणाम अनुसार जमानत जोगाउन असफल देखिएको छ । विस २०४८ सालको आम निर्वाचन बाटै उनी इलाम–१ बाट निर्वाचन लड्दै आएका थिए ।