फिक्कल । आगामी बैशाख २५ गतेबाट दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख ३१ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालगुरु खेलमैदान संचालन हुने प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहनेछ ।
प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । ९ साइडमा संचालन हुने प्रतियोगितामा सहभागी टिमले आफ्नो पालिका भित्रका खेलाडीहरु मात्र समावेश गर्न पाउने आयोजक समितिका सचिव महेश सापकोटाले जानकारी दिए । उनले सहभागी टिमले पालिका भन्दा बाहिरका खेलाडीहरु टिममा समावेश भएको पुष्टि भएका स्वत टिम खारेज हुने बताए ।
प्रतियोगिताको ड्र बैशाख २२ गते गरिने भएको छ । प्रतियोगिता अघि परिषदले पालिका स्तरिय टिम छनौटका लागि बैशाख १९ देखि २१ गतेसम्म वडा स्तरिय प्रतियोगिता संचालन गर्ने अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए । परिषदले गत बर्षबाट पालिका स्तरिय प्रतियोगिता संचालन गरेको हो । पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण लोकल सन्देश डटकमको अफिसियल फेसबुक पेजबाट गरिनेछ ।