इलाम । इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उप चुनावको तयारी पुरा भएको छ । चुनावका लागि सुरक्षाकर्मी, मतदान अधिकृत, कर्मचारी निर्वाचन सामग्री सहित मतदानस्थल पुगेका छन् ।

६ स्थानीय तहका ४२ वटा वडा इलाम क्षेत्र २ पर्दछन् । ४२ वडामा रहेका ७९ मतदानस्थलमा १ सय ४९ वटा मतदान केन्द्र छन् । बैशाख १५ हुने उप चुनावमा खटिने कर्मचारी,सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका छन् । उप चुनाव सम्पन्न गर्न ७ सय ४५ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले बताए ।

इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन् । मतदानमा खटिने कर्मचारीले नियुत्तिपत्र मुख्य निर्वाचन कार्यालयबाट बुझेका थिए । भने निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयबाट बुझेका हुन् ।
निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीलाई १० गते तालिम दिएको थियो । इलाम नगरपालिका बाहेक पालिकाहरुका मदतान केन्द्रमा खटिने कमएचारीलाई मंगलबार र इलाम नगरपालिकामा खटिनेलाई बुधबार निर्वाचन सामग्री सहित पठाइएको हो ।

इलाम क्षेत्र नम्बर २ मा ४ सय २२ मतदाता थपिएका थिए । थपिएका मतदाताले परिचय खुल्ने परिचय पत्रको आधारमा मतदानमा सहभागि हुन पाउने मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताए ।

उप चुनावको सुरक्षाका लागि बुधबार राती १२ बजेबाट पशुपतिनगरस्थित नेपाल भारत सीमा नाका सिल हुनेछ । चुनावमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना खटिनेछन् । चुनावी सुरक्षाका लागि १ हजार ३ सय ६३ नेपाल प्रहरी, ७ सय ८० शसस्त्र प्रहरी, ४ सय ८० नेपाली सेना र २४ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालित हुने प्रमुख जिल्ल अधिकारी इन्द्रदेव यादवले बताए । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ स्वतन्त्र सहित १९ जना उमेद्धवार चुनावी मैदानमा रहेका छन् ।




















